पाथीभराको नाममा मोरङमा रकम संकलन, तत्काल रोक्न मोरङ प्रशासनलाई पत्राचार

काठमाडौं – ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा देवीको तस्बिर राख्दै मोरङमा आर्थिक सहयोग संकलन गरिरहेको भेटिएपछि पाथीभरा क्षेत्र विकास समितिले उक्त कार्य रोक्न भन्दै मोरङ प्रशासनलाई पत्राचार गरेको छ ।

सुन्दरहरैचा न.पा.५ मोरङमा रहेको शिवबाबा भक्त समाज नेपाल नामक संस्थाले ‘ताप्लेजुङ पाथीभरा माताको मन्दिर निर्माणार्थ’ भनेर आर्थिक सहयोग संकलन गरिरहेको खबर प्राप्त भएकाले उक्त कार्य रोक्न पत्राचार गरेको समितिका अध्यक्ष रक्की थेबे (लिम्बु)ले जानकारी दिए ।

‘ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिर नेपालको एक प्रसिद्ध धार्मिक स्थल हो । जसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व छ । हामीलाई जानकारी आए अनुसार, हाल मोरङ जिल्लामा शिवबाबा भक्त समाज नेपाल नामक संस्था, सुन्दरहरैचा न.पा.५ मोरङले ताप्लेजुङ पाथीभरा माताको मन्दिर निर्माणार्थ भनेर आर्थिक सहयोग संकलन गरिरहेको खबर प्राप्त हुन आएको छ,’ पत्रमा भनिएको छ, ‘यस कार्यमा पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ सँग कुनै औपचारिक समन्वय भएको छैन ।’

ताप्लेजुङमा मन्दिर निर्माण गर्ने कार्य पनि नभएको जानकारीका गराउँदै यस्तो कार्यले धार्मिक भावनामा आघात पुर्याउने र जनमानसमा भ्रम फैलाउने तथा आर्थिक अनियमितताको खतरा उत्पन्न हुन सक्ने तर्फ सचेत गराउँदै समितिले पाथीभराको नाम लिएर भईरहेको अवैध सहयोग संकलन कार्यको तत्काल छानबिन गरी आवश्यक निगरानी तथा कारबाही गर्न पनि अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics