अन्टार्कटिकामा ४ दशकमा १० गुणाले बढ्यो हरियाली, के पर्छ असर ?

जलवायु परिवर्तन : विदेशी आक्रमणकारी प्रजातिहरू फैलिने चिन्ता

काठमाडौं – कुनै पनि क्षेत्रमा हरियाली वृद्धि हुनुलाई त्यहाँको वातावरणमा सुधार भएको मानिन्छ । तर, अन्टार्कटिकमा बढ्दो हरियालीले भने वैज्ञानिकहरूको चिन्ता बढाएको छ ।


पछिल्लो समय अन्टार्कटिकमा हरियाली नाटकीय रूपमा बढ्दै गएको एक अध्ययनले देखाएको छ । विगत चार दशकहरूमा १० गुणाले हरियाली बढेको हो । यो चिसो क्षेत्र विश्वव्यापी औसत भन्दा छिटो तातो भइरहेको छ । यति मात्र होइन, यहाँ चर्को गर्मीका घटना पनि सामान्य मान्नुपर्ने अवस्था आएको अनुसन्धानमा संलग्न विज्ञ बताउँछन् ।


एक्सेटरका साथै हर्टफोर्डशायर विश्वविद्यालयका अनुसन्धानकर्ताहरू र ब्रिटिश अन्टार्कटिक सर्वेक्षणले गरेको अध्ययनले जलवायु परिवर्तनका कारण यस क्षेत्रको वातावरणमा चाँडै परिवर्तन आइरहेको देखाएको हो ।


यस अध्ययनमा अन्वेषकहरूले उपग्रहबाट प्राप्त डाटाको पनि सहयोग लिएका छन् । यस अध्ययनको नतिजाले सन् १९८६ मा एक वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल रहेको यस प्रायद्वीपमा वनस्पतिको आवरण सन् २०२१ सम्ममा १२ वर्ग किलोमिटर पुगेको खुलासा गरेको छ ।

नेचर जियोसाइन्स नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित यस अध्ययनको नतिजाले सन् १९८६ देखि २०२१ सम्मको तुलनामा सन् २०१६ देखि २०२१ सम्ममा हरियाली वृद्धि दर ३० प्रतिशतले बढेको र यस अवधिमा ४ लाख वर्ग मिटरले हरियाली वृद्धि भएको देखाएको छ ।


यहाँ बोटबिरुवाको वृद्धिदर नाटकीय रूपमा बढेको पनि देखिएको छ । यस नयाँ अध्ययनमा स्याटेलाइट तस्बिरहरूबाट लिइएको डाटामा पनि हरियाली तीव्र गतिमा बढेको पुष्टि गरेको छ ।


एक्सेटर विश्वविद्यालयका अध्ययनसँग सम्बद्ध अनुसन्धानकर्ता डा. थोमस रोल्यान्डले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘अन्टार्कटिकमा पाइने वनस्पति, जसमध्ये धेरैजसो काई छ, पृथ्वीमा सबैभन्दा कठोर परिस्थितिमा पनि यो बढ्छ ।’ उनका अनुसार यस परिदृश्यको अधिकांश भूभाग अझै हिउँ र चट्टानले ढाकिएको छ भने थोरै भागमा मात्रै वनस्पति रहेको छ । यद्यपि, यो सानो क्षेत्र अहिले नाटकीय रूपमा बढ्दै गएको छ ।


युनिभर्सिटी अफ हर्टफोर्डशायरसँग सम्बद्ध डा. ओली बार्टलेटद्धारा जारी विज्ञप्ति भनिएको छ, ‘यी पारिस्थितिक प्रणाली बढ्दै जाँदा र हावापानी न्यानो हुँदै जाँदा हरियालीको क्षेत्र पनि धेरै बढ्न सक्छ ।’ उनका अनुसार अन्टार्कटिकाको अधिकांश क्षेत्रमा माटो भए वा नभए पनि यसरी हरियो बिरुवा बढ्दै जाँदा जैविक पदार्थ बढ्दै जान्छ र माटो निर्माणमा सहयोग पुग्छ । यस कारण, अन्य बिरुवाहरू बढ्ने र फैलने सम्भावना बढ्छ ।

वैज्ञानिकहरूका अनुसार यो क्रम बढ्दै जाँदा यस क्षेत्रमा अन्य विदेशी आक्रमणकारी प्रजातिहरूको फैलावटको पनि यहाँ जोखिम बढ्न सक्छ । जुन सम्भावित रूपमा पर्यटकहरू, वैज्ञानिकहरू वा महाद्वीपका अन्य भागहरूबाट भ्रमण गर्ने व्यक्तिहरू मार्फत यस क्षेत्रमा पुग्न सक्छ । यस्तो अवस्थामा हरियालीको बढ्दो प्रवृत्तिका लागि जिम्मेवार जलवायु र वातावरणीय कारकहरू बुझ्न थप अध्ययन गर्नुपर्नेमा वैज्ञानिकहरूले जोड दिएका छन् ।


डा. रोलान्डका अनुसार अन्टार्कटिकका वनस्पतिहरू जलवायु परिवर्तनका लागि अत्यन्तै संवेदनशील छन् भन्ने कुरा अहिले स्पष्ट भइसकेको छ । भविष्यमा, मानव कारणले बढ्ने तापक्रमले यस महत्त्वपूर्ण र संवेदनशील क्षेत्रको परिदृश्य र जीवजन्तुमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics