नेपालमा ८ सय ८४ प्रजातिका चरा



नेपालमा पाइने चरा प्रजाति ८ सय ८४ पुगेको छ । यसअघि नेपालमा ८ सय ८१ प्रजातिका चरा रहेका थिए । यो वर्ष तीन नयाँ प्रजातिका चराहरु भेटिएपछि चरा प्रजातिको संख्या बृद्धी भएको हो । सन् २०१६ मा रुफस टेल्ड रक थ्रस, ग्रे साइडेड थ्रस र वेस्ट हिमालयन बुस वाब्लर गरी तिन नयाँ प्रजातिका चराहरु भेटिएका छन् ।

नेपाल पन्छी संरक्षण संघको ३४ औ वार्षिक साधारण सभाको कार्यक्रममा नेपालका लागि नयाँ प्रजाती रुफस टेल्ड रक थ्रस चरा पत्ता लगाउने नरेश कुसी नेतृत्वको समूह, ग्रे साइडेड थ्रस पत्ता लगाउने सोम जिसी नेतृत्वको समूह र वेस्ट हिमालयन बुस वाब्लर पत्ता लगाउने हठन चौधरी नेतृत्वको समूहलाई संघले सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले नेपालमा चरा अनुसन्धानकर्ताको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको बताए ।

संघले बर्डलाइफ इन्टरनेसनलसँग साझेदार रहेर गिद्ध, खरमजुर जस्ता लोपोन्मुख, अति संकटापन्न तथा दुर्लभ चराको वैज्ञानिक अध्ययन तथा संरक्षणका कार्यका साथै चरा र जैविक विविधताका क्षेत्रमा सन् १९८२ देखि निरन्तर काम गर्दै आइरहेको छ ।

गिद्ध संरक्षणमा जोड

नेपाल पन्छी संरक्षण संघले गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरु गर्ने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएका प्रजनन् अयोग्य गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरुवात गरेको गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए । उनले भने ‘प्रजनन केन्द्रमा प्रजनन् अयोग्ग ठहरिएका गिद्धलाई नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा सफलतापूर्वक प्राकृतिक बासस्थानमा पुनःस्थापना गरीनेछ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics