छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिँइदै
- नेचर खबर
काठमाडौं - सूर्य उपासनाको पर्व छठ आज उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिँदैछ । छठी घाटमा ब्रतालुहरुले बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठको विधिवत समापन गरिँदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ मङ्गलबार सुरु भएको हो । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ ।
यसअघि हिजो विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
अर्घ्य दिएपछि व्रतालुहरू नदी तथा तलाउका किनारमा रातभर जाग्राम बसेका थिए । कात्तिक शुक्ल सप्तमी दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको हो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।
लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार अत्रि मुनीकी पत्नी अनुसूयाले सबैभन्दा पहिले छठको व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस