रेडपाण्डा हेर्न ओलाङचुङगोला जाऔं (भिडियोसहित)
- नेचर खबर
ताप्लेजुङ — लोप हुन लागेको वन्य जन्तुमा पर्ने रेडपाण्डा पाइने जिल्लामा पर्छ ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रसहित पाथीभरा र सुकेटार सम्म नै विभिन्न समयमा देखिने रेडपाण्डा पर्यटकीय क्षेत्र ओलाङचुङगोला बस्ती नजिकै देखिन थाले पनि स्थानीय खुसी देखिन्छन् ।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका टाँसी शेर्पाले केहि दिन अघि बस्ती नजिकै रेडपाण्डाको तस्बिर र भिडियो नै खिचेर सामाजिक सञ्जारमा राखेका थिए ।
ओलाङचुङगोलाको बस्ती र याङ्मा जाने बाटोमा खिचेको भिडियोमा उनले ‘किन लुकेको यता हेरन’ भन्दा रेडपाण्डाले अनुहार फर्काएर पोज दिएको देखिन्छ ।
‘उहाँले खिच्दा पनि नजिकै थियो रे,’ टाँसीले खिचेको भिडियो सार्वजनिक गरेका तेञ्जीङ शेर्पाले भने, ‘यतातिर बस्ती नजिकै रेडपाण्डा देख्न मज्जाले पाइन्छ ।’
यो कञ्चजनंघा संरक्षण क्षेत्रमा पर्दछ । संरक्षणको कार्यक्रम अन्त भए पनि पर्यटकले हेर्ने देख्ने गरिको रेडपाण्डा ओलाङचुङगोला क्षेत्रमा रहेको तेञ्जीङ बताउँछन् । मानिसबाट कुनै जोखिम नरहेकाले मान्छे हिँडडुल गर्दा नजिकसम्म आउने गरेको उनले बताए ।
रेडपाण्डा नेटवर्कले फुङलिङ नगरपालिका लगायतको क्षेत्रमा संरक्षण सम्बन्धी कार्यक्रम गर्दै आएको छ । ताप्लेजुङ, पाँचथर, इलामलाई रेडपाण्डाको राम्रो बासस्थान रहेको जिल्लामा सुचीकृत गरिएको छ ।
तीन जिल्लामा तीन सयको हाराहारीमा रहेको अनुमान गरिएपनि यतिकै संख्यामा छ भन्ने यकिन नभएको संरक्षणकर्मी बताउँछन् ।
ओलाङचुङगोलामा टाँसी शेर्पाले खिचेको रेडपाण्डाको भिडियाे ।
प्रतिक्रिया दिनुहोस