हात्तीलाई साथी बनाएको बाहुनडाँगी
- नेचर खबर
अर्जुनकुमार कार्की – परापूर्व कालमा त हात्ती हाम्रो मित्र मात्रै होइन, भगवान नै थियो । गणेशको रूपमा त हात्तीलाई पुजेको जुगौं भयो । पहिले–पहिले त हात्ती र मानिस मात्रै होइन, सबै वन्यजन्तुसँगै मिलेर बसेका रहेछन् । तर, विस्तारै मान्छेहरू लोभी हुँदै गए । ठाउँ साँगुरो हुँदै गयो । वन जंगल फडानी गर्दैगए । वन्यजन्तुको वासस्थान क्रमशः मानिसहरूले अतिक्रमण गर्न थाले । हात्तीको पनि हिड्ने स्थान र चरन क्षेत्रमा मानिसले घर बनाए, बाली लगाए । यो क्रम क्रमशः चल्दै गएपछि हात्ती र मानवबीच मित्रता भन्दा पनि द्वन्द्व सुरु भएको मैले पाएको छु ।
द्वन्द्व रोक्नुपर्छ भन्ने तर्फ भन्दा पनि यो चाहीँ हाम्रो शत्रु हो, यसलाई मार्नुपर्छ । खेदाउनु पर्छ भन्नेमा मानव समुदाय लागेको प्रष्ट देखिन्छ । हुनसक्छ त्यो समयको अवस्था त्यस्तै थियो होला । बिचको समयमा यस क्षेत्रका नागरिकले धेरै दुःख गरे । फेरी यो क्षेत्र भनेको सीमा क्षेत्र पनि हो । पारी भारतबाट सैयौंको संख्यामा हात्ती आउँछन्, जान्छन् । रोक्न सक्ने कुरै भएन । हात्तीलाई बार लगाउने, रातभर रुंने, धपाउने र करेन्ट लगाउने खालका काम धेरै भए । हात्तीले पनि निरन्तर प्रतिकार गरिरह्यो । घर भत्कायो, मान्छे मार्यो, अन्नबालीमा क्षति पुर्यायो । यो एक किसिमले मानिस र हात्ती बिचको युद्ध जस्तै चलिरह्यो ।
त्यसपछि हामीले अब फरक रूपमा सोच्नुपर्छ, केही जनचेतनाको विकास र विकल्प पनि खोज्नुपर्छ भन्नेमा लाग्यौं । २०६७ सालको कुरा हो अब अलि संस्थागत रूपमा हात्तीका विषयमा लाग्नुपर्छ भनेर हामीले एउटा ‘प्रकृति संरक्षण समाज’ भन्ने संस्था स्थापना गर्यौं ।
खासमा चाहीँ म २०५४ साल देखिनै यो क्षेत्रमा लागेको मान्छे हुँ । ‘नवकिरण युवा परिवार’ भन्ने एउटा क्लबको अध्यक्ष भएर काम गरेको थिएँ । त्यस समय मित्र महेन्द्र गिरी लगायतका साथीहरू एनजीओहरू चलाउनुहुन्थ्यो । उहाँ सँग मैले क्लबमा छु अब केही काम त गर्नुपर्यो भनेर प्रस्ताव राखेँ । के गर्ने भन्ने कुरा भयो । स्थानीय र किसानलाई हात्ती रुंने अग्ला–अग्ला मचान (टुङ) बनाइदिनु भनेँ । एउटा टुङ पनि बन्यो । त्यसअघि गाविसहरूले त्रिपाल दिन्थे । मैले हात्तीका विषयमा काम गर्दा सुरुमा नै हात्ती रुग्ने टुङ बनाउने कार्यबाट थालेँ । त्यो समय एक दुईवटा टर्च लाइट र एक दुई लिटर मट्टितेल बाँड्दा पनि किसान खुसी हुन्थे । त्यो समयको चिन्ता भनेकै हात्ती धपाउने र बाली जोगाउने थियो ।
त्यो समय सम्म हात्ती किन यसै क्षेत्रमा बढी आउँछ ? हात्तीसँग यस स्थानको सम्बन्ध के छ ? भन्ने कुराको खोजी र छलफल सम्म हुन सकेको थिएन । मैले संस्था खोलेपछि केही जनचेतना मुलक काम गरौं भन्ने सुरु गरेँ । नागरिकलाई बुझाउने प्रयासको सुरुवात भयो । बिचमा केही समय राजनीतिक द्वन्द्व भयो । हामीले त्यस समय पनि धेरै काम गरेका छौं । हाम्रो मुख्य उदेश्य भनेकै हात्ती खेदाउने भन्दा पनि अब स्थानीय नागरिकको आम्दानी कसरी बृद्धि गर्ने भन्नेमा केन्द्रित रह्यो । हामीले हात्ती आउँदा–आउँदै पनि कसरी आम्दानी गर्न सकिन्छ र हात्ती मैत्री कसरी बन्ने भन्ने प्रयास सुरुवात गरेका हौं ।
यहाँ हात्ती आउँदैन थियो भने यसरी विकल्प खोज्दैन थियौं होला । अहिले पनि पुरानै जमानाको खेती किसानीमा यहाँका किसान लागेका हुन्थेहोला । तर, जब हामीले हात्तीको विकल्प रोज्यौं । बाहुनडाँगीले मुहार फेरेको छ । अहिले बाहुनडाँगी हात्ती मैत्री बनिरहेको छ ।
मलाई यो क्षेत्रमा काम गरिरहँदा सानुको एउटा कथाको याद आउँछ । म सानु छँदा एक दिन मेरो बाँसुरी फुटेको थियो । अर्को बाँसको बाँसुरी बनाउन अँगेनुमा आगोको कोइला बाहिर तानेर छाताको डाँठ तताउँदै छेड्दै थिएँ । मलाई आमाले चिम्टाले सारो कुट्नुभयो । भरे थाहा पाएँ, आगो बाहिर तान्दा अँगेनुमा बसाएको भात राम्ररी नपाकेर बिग्रिएछ । आमालाई त्यो भातको निक्कै माया लागेको रहेछ । त्यसैले मलाई चिम्टाले कुट्नुभयो । चिम्टा मेरो खुट्टामा गाडीएको पनि थियो । भरे आफै सिम्रिक लगाएर उपचार गर्नुभयो । पछि मात्रै मैले यसको कारण थाहा पाएँ । हात्तीबाट जोगाएको अन्नको महत्त्व कति हुने रहेछ ?
त्यो समय हात्तीबाट जोगाएको धानको चामलको भात यसरी बिग्रएपछि त किसानलाई तनाब त हुन्छ नै । यसरी मलाई सानैबाट किसान र हात्तीबीचको द्वन्द्व थाहा भएको थियो । त्यो समय आमाले गरेको दुःख अहिले पनि याद छ । खरेटो बेचेर हाम्रो उपचार गर्नुभएको थियो रे । आम्दानीको स्रोत नहुँदा र भएका अन्न पनि हात्तीले खाँदा खानकै दुःख थियो ।
पछि मैले यहाँ संस्था खोलेर काम गरेपछि स्थानीयको आम्दानी बढाउने र हात्ती मैत्री समाज कसरी बनाउने ? भन्ने मात्रै सोच म मा रह्यो । यहाँ बाहुनडाँगीका मानिसलाई हात्तीसँग केही रिस छैन, उनीहरूलाई मात्रै बालीसँग सरोकार छ र बालीको मायाँ छ । त्यसैले हामीले अब बाली परिवर्तन गर्दै यहाँका नागरिकको आम्दानी बढाउनुपर्छ भन्ने सोच्यौं । हामीले हात्तीले क्षति पुर्याउने स्थानमा चिया रोप्यौं, तेजपत्ता र कागति अनि सुपारी हुँदै मरिच लगायौं । अहिले लालचन र तरुल लगाएर धानको भन्दा धेरै आम्दानी गर्न किसान सफल भएका छन् ।
यहाँका किसानले अहिले १ करोड २५ लाख किलो हरियो चियापत्ति उत्पादन गरेर बेच्न सफल भएका छन् । चियालाई हात्तीले क्षति गर्दैन । बढीमा ५२ रूपैयाँ प्रति किलोमा हरियो चियापत्ति बिक्रि हुने गरेको छ । यसबाट करिब करिब २०, २५ करोड रूपैयाँ बाहुनडाँगी भित्रन्छ । यो त ठुलो उपलब्धि होइन र ?
म जनप्रतिनिधि पनि भएको नाताले यो परिवर्तन गराउन अहिले सहज भएको छ । हिजो के समस्या थिए ? र, आज के गर्ने ? भन्ने विषय मैले राम्ररी बुझेको छु । संस्था चलाएको समयमा गरेका जनचेतनाका कामले अहिले धेरै सहयोग मिलेको छ । किसान बुझ्ने भएका छन् । हात्तीले क्षति नगर्ने बाली लगाएर धेरै आम्दानी गर्दै जीवनस्तर उकासेका छन् । घर पक्कि बनाएका छन् । छोरा छोरीलाई राम्रो स्थानमा पढाउन र राम्रो शिक्षा र उपचार दिन सफल भएका छन् ।
अहिले जताततै सिमल तरुल र घर तरुल देख्नुहुन्छ । यो जताततै फल्दो रहेछ । हामीले मेला र महोत्सवको आयोजना गरेर तरुलको प्रचार पनि गरेका छौं । यसले बजार राम्रो पाएको छ । यहाँ उत्पादन भएका हरेक वस्तुले सहजै बजार पाउने भएकाले किसानलाई आम्दानी गर्नमा समस्या छैन ।
यो सबै हात्तीले ल्याएको परिवर्तन हो । यहाँ हात्ती आउँदैन थियो भने यसरी विकल्प खोज्दैन थियौं होला । अहिले पनि पुरानै जमानाको खेती किसानीमा यहाँका किसान लागेका हुन्थेहोला । तर, जब हामीले हात्तीको विकल्प रोज्यौं । बाहुनडाँगीले मुहार फेरेको छ । अहिले बाहुनडाँगी हात्ती मैत्री बनिरहेको छ ।
अहिले पनि हात्तीले क्षति त गरेकै हुन्छ । हात्ती आउँछ, लगाएको बाली उसलाई मन पर्ने खान्छ । तर, बाहुनडाँगीमा पहिले जस्तो हल्ला हुँदैन । हामीले नयाँ अभ्यासको सुरुवात पनि गरेका छौं । केही युवालाई हात्तीको निगरानीका लागि परिचालन गरेका छौं । उनीहरू हात्तीलाई आफ्नो बाटोमा सुरक्षित जान साथ दिन्छन् । उनीहरूको बिमा हामीले गरिदिएका छौं ।
अहिले हात्ती आउँदा घरबाट कोही नसिक्ने भन्ने नियम बनाएका छौं । यो एकदमै प्रभावकारी बन्यो । हात्ती आउँदा राती हल्ला गर्ने, आगो बाल्ने र खेदाउने अनि हात्तीको पछि–पछि दौडदा कतिलाई हात्तीले मारेको छ । हात्ती पनि आतिएर घर भत्काउन तर्फ लागेको छ । बिच्किएर बाली र घरका साथै मानिसलाई क्षति पुर्याएको छ । अब घरबाट ननिस्किएपछि त हात्ती आफ्नो बाटो जाने नै भयो । बाटोमा भेटिएको केही कुरा खाएर हात्ती बाटो लागेपछि मानविय, भौतिक र आर्थिक क्षति पनि कम भएको छ । यो उत्तम विकल्प हो ।
अहिले हामी प्रविधि मैत्री पनि बन्दै गएका छौं । विभिन्न संस्थाहरूको सहकार्यमा हात्ती संरक्षणका साथै हात्ती आउने जाने समय र हात्तीको जीपीएस ट्याकिङ लगायतका काम भएका छन् । हामीले हात्ती पार्क बनाएर पर्यटक भित्र्याउने प्रयास गरिरहेका छौं । हात्ती मैत्री होमस्टे छ । यहाँ हात्तीका विषयमा अध्ययन गर्न देश विदेशबाट विज्ञहरूको टोली पनि आउने गरेको छ । अहिले पनि मेरो सम्पर्कमा त्यस्ता व्यक्ति धेरै हुनुहुन्छ । अहिले मान्छेले हात्तीलाई बुझेका छन् ।
अहिले हामी प्रविधि मैत्री पनि बन्दै गएका छौं । विभिन्न संस्थाहरूको सहकार्यमा हात्ती संरक्षणका साथै हात्ती आउने जाने समय र हात्तीको जीपीएस ट्याकिङ लगायतका काम भएका छन् । हामीले हात्ती पार्क बनाएर पर्यटक भित्र्याउने प्रयास गरिरहेका छौं ।
हात्तीको भारतको आसामदेखि बर्दिया, चितवन र पर्सा सम्मको हिड्ने रुट छ । अनुसन्धानले नै पुष्टि गरेको के छ भने, ‘६ पुस्ता अघि हिडेको बाटोमा पनि अहिलेको हात्तीका पुस्ता खोज्दै आउँछ’ रे । उनीहरूको पनि आफ्नै नियम छ । भारतका हात्ती नेपालको पर्सासम्म जान र आउन यो रुटको प्रयोग गर्दा रहेछन् । त्यसैले यो नेपालको इन्ट्रि प्वाइन्टमा पर्ने बाहुनडाँडी क्षेत्रमा उनीहरूको बाटोमा पर्ने कुरा खाँदै र भत्काउँदै त उनीहरू हिड्ने नै भए । त्यसैले यहाँ पहिले बढी क्षति भएको रहेछ ।
अहिले यो कुरा नागरिकले पनि बुझेका छन् । त्यसैले उनीहरू हात्तीलाई हिड्ने स्थान छाडिदिन्छन् । कसैले त धान पाक्दा केही धान खेतमै हात्तीका लागि छाडिदिने गरेको पनि मैले देखेको छु । अहिले हात्तीको आनिबानी बुझेपछि हात्ती त सँचिकै गणेश भगवान नै त रहेछ । हात्तीकै कारण हामी यो स्थान सम्म पुग्यौं भन्ने नागरिकले सोच्न थालेका छन् । यस समय सम्म आउँदा धेरै परिवर्तन भएको छ ।
प्राय हात्ती कात्तिक, मंसिर र पुस महिना लागेपछि भारत तर्फ फर्कन्छन् । जब बर्खाको समय आउँछ पुनः यो बाटो हुँदै नेपालका स्थानमा छिर्छन् । अहिले यो बाटो हुँदै धेरै हात्ती कोशीटप्पु सम्म पुगेर बस्ने र त्यहाँबाट चितवन, पर्सा, बर्दिया राष्ट्रिय निकुञ्ज सम्म पनि पुग्दा रहेछन् । पर्साका हात्ती पनि यो बाटो हुँदै भारत सम्म जाँदा रहेछन् । केही समय अघि यहाँ एउटा हात्ती मरेको थियो । त्यो मरेको हात्ती पर्साको भएको पछि पुष्टि भयो ।
अब हामीले गर्ने विकास पनि हात्ती मैत्री हुनुपर्छ भनेर हामी लगेका छौं । स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारका योजना पनि हात्ती मैत्री हुनुपर्छ र हात्तीको बाटोमा बन्ने योजना हात्तीलाई बाटो छाडेर मात्रै बन्नुपर्छ भनेर हामीले काम गरिरहेका छौं । मानव जातीले गर्ने विकास वातावरण र वन्यजन्तु मैत्री भए मात्रै सबैले सँगै बाँच्न पाइने रहेछ भन्ने नागरिकले बिस्तारै बुझ्दैछन् । जनप्रतिनिधि र सरकारले पनि यो कुरालाई मनन गरेर विकासका योजना बनाउनु पर्ने रहेछ । यो धर्ती सबैको हो भन्ने बुझ्न जरुरी छ । हामी यहाँ उत्पादन हुने हरेक कुरालाई हात्तीको फोटो र लोगो राखेर ब्राण्डिङ गर्दैछौं । संस्थाका लोगो र होटेल पनि हात्ती झल्कने खालका छन् ।
हामीले हरेक काम गर्दा अब हात्ती मैत्री गर्नुपर्छ है भनेर नागरिकलाई बुझइरहेका छौं । हात्तीलाई पनि उसको प्राकृतिक अवस्थामा रहन दिनुपर्छ । हामीले वन जंगलमा पिक्निक खाँदा चाउचाउका खोल त्यहीँ फाल्यौं, रक्सिका भाँडा र बोतल त्यहीँ फाल्यौं भने हात्तीले पनि त्यसलाई खाएर स्वाद थाहा पाउँदै गाउँ पस्ने रहेछ । बाँसका तामा (मुना) हामी सानैमा भाँचेर खान लैजान्छौं, जंगलका केरा र रुख मास्छौं, यसो गर्दा हात्ती पनि खानेकुरा खोज्दै गाउँ पस्ने सम्भावना हुन्छ । त्यसैले हात्तीका लागि पनि खानेकुरा जंगलमा रोप्नुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने रहेछ ।
यी सबै स–साना कुराको ख्याल गरे मानव हात्ती द्वन्द्व सदाका लागि अन्त्य गर्न सकिन्छ । यो उदाहरण हेर्न मन भए झापाको बाहनुडाँगी क्षेत्रमा आउँदा हुन्छ । पहिले एउटा भनाई थियो, ‘बाहनुडाँडीमा छोरी दिनुहुँदैन, हात्तीले दुःख दिन्छ, खान बस्न पिरलो हुन्छ ।’ तर, अहिले यो कुरा परिवर्तन भएको छ । बाहुनडाँगी हात्तीसँग कसरी मित्रता गाँस्ने भन्ने कुरा विश्वसामु उदाहरण प्रस्तुत गर्न सक्षम भएको छ । त्यो बाहुनडाँगी र यो बाहुनडाँगीमा धेरै फरक आएको छ । अझै हाम्रो यात्रा निरन्तर अघि बढीरहेको छ ।
(प्रकृति र पर्यटनका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका लेखक कार्की हात्ती प्रभावित क्षेत्र झापा मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष हुन् । उर्न कार्कीसँग नेचरखबरका कार्यकारी सम्पादक रविन भट्टराईले गरेको कुराकानीमा आधारित लेख)
प्रतिक्रिया दिनुहोस