सगरमाथा संवादको शुभारम्भ



काठमाडौं : आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा संवाद कार्यक्रमको सुरुआत गरिएको हो ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ विषयमा आयोजना हुने योे संवाद हरेक दुई वर्षमा आयोजना गरिनेछ । यसअघि २०७६ सालमा प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले अघि बढाएको सगरमाथा संवादको तयारी कोभिड–१९ कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन् । संवादमा विशेष गरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, मिडियाका विज्ञलगायतलाई निमन्त्रणा गर्ने वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले जानकारी दिए । पहिलो पटक, सबै मन्त्री, सचिव र राजदूतहरू सगरमाथा संवादलाई सफल र उत्पादक बनाउन कार्यक्रममा उपस्थित भई प्रतिबद्धता जनाएका छन् ।

संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्ने गरी अघि बढाउने ढकालले बताए । सगरमाथा संवाद आयोजनाका लागि संयोजन समेत गरिरहनुभएका सहसचिव डा ढकालले भने, ‘जलवायुले पर्वतीय क्षेत्रमा पारेको असर र प्रभाव यसबाट स्थानीय भोगेको समस्यामा झन धेरै छलफलको आवश्यकता छ । सामूहिक प्रयासका लागि उपाय खोज्न पनि संवाद गर्न लागेका हौँ।’

संवाद आयोजनाका केही उद्देश्यसमेत सरकारले स्पष्ट पारिसकेको छ । डा. ढकालका अनुसार, पहाडी क्षेत्रदेखि तटीय क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रभावहरूको एकीकृत र समग्र प्रतिक्रियाको लागि राष्ट्रहरू बीच साझा समझदारी विकास गर्ने, कम कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले सामना गर्ने जलवायु प्रकोपहरूको लागि जलवायु न्यायको वकालत गर्ने उद्देश्य राखिएको छ । त्यस्तै जलवायु वित्त, प्रविधि विकास र विस्तार, र क्षमता निर्माणको लागि बहुपक्षीय सहयोग र साझेदारीलाई प्रवद्र्धन गर्ने तथा युएनएफसीसीसीको नियमित वार्ता प्रक्रियामा पहाडी देशहरूको वार्ता समूह गठन गर्न पहल गर्ने मूख्य उद्देश्य छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics