नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा
- नेचर खबर

चितवन । अविरल वर्षाका कारण विघ्न उत्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको हो। त्यस्तै, चितवनको इच्छाकामना–५ तुइनखोला पुल क्षेत्रमा खसेको पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
हाल पनि पहिरो पन्छाउने कार्य र सवारीसाधन पार गराउने काम सँगसँगै भइरहेका छन्। वर्षा जारी रहेकाले ठुला पहिरो खस्ने जोखिम उच्च रहेको र अत्यधिक सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ।
प्रहरीका अनुसार ढुङ्गा र माटो झर्ने क्रम नरोकिएकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने छ।
प्रतिक्रिया दिनुहोस