पोखरामा भयो सर्वाधिक वर्षा



नेपालमा सबैभन्दा धेरै पानी पर्ने सहर पोखरामा यस वर्षकै धेरै वर्षा भएको छ । पछिल्लो २४ घन्टाको मापनअनुसार पोखरामा सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान ९ बजेसम्मको मापनअनुसार यहाँ वर्षकै सबैभन्दा बढी १ सय ९१ मिलिमिटर वर्षा भएको हो । पोखरापछि दाङमा ८०, धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ । वर्षभरिकै सबैभन्दा धेरै शनिबार परेको पानीले पोखरामा धनजनको क्षति गरेको छ । दुई जनाले ज्यान गुमाएका छन् भने दर्जनौंको घर, बारी, खेतलगायत सम्पत्तिमा क्षति पुगेको छ । पोखराको ठाउँठाउँको जमिन भासिएर भ्वाङ परेको छ ।

यसैगरी अत्याधिक वर्षाका कारण पोखरा–१५ मा पर्ने हरियोखर्क मितेरीमा सेती किनारको चौर भासिएको छ । चौरको दायाँबायाँ खाली रहेकाले यहाँ कुनैपनि किसिमको क्षति भएको छैन । भूकम्पले चर्किएको यो ठाउँको करिब सय मिटर लामो र ५० मिटरभन्दा बढी चौडा ठाउँ शनिबार रातिको वर्षापछि सेतीमा खसेको छ । उक्त स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ । सेती नदी किनारको दुवैतर्फ कम्तीमा ५० मिटर परसम्म बस्ती नबसाउन विज्ञहरुले सुझाव दिएका छन् ।

पोखराका विभिन्न स्थानका थुप्रै घर बाढीपहिरोको जोखिममा छन् । लेकसाइडको खहरे, फिर्केखोला, छोरेपाटन, प्रस्याङपाखाथर, लामाचौरलगायत क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध गर्नुका साथै बस्ती जोखिममा छ । सराङकोट जाने सडकसमेत भासिएको छ । छोरेपाटनमा १५ घर डुबानमा परेका छन् । महानगरपालिकाले खोलाको निकास थुनेर जथाभावी प्लटिङ गर्न अनुमति दिएपछि छोरेपाटन बर्सेनि डुबानमा पर्दै आएको छ । पहिरोले अवरुद्ध विभिन्न सडकखण्डको विस्तारै पहिरो पन्छाउन थालिएको छ ।

बाढी पहिरोमा ७ को मृत्यु


पर्वत, कास्की र प्यूठानमा दुई दिनको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ७ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान पर्वतमा ४, कास्कीमा २ र प्यूठानमा १ जनाको ज्यान गएको हो । कास्कीमा एक महिला, प्यूठानमा २ बालक र स्याङ्जामा १ बालक बेपत्ता छन् । शनिबार राति पोखराको प्रस्याङपाखास्थित तारापति अधिकारीको घरपछाडिको ढिस्को खस्दा स्याङ्जा घर भई ठूलीआमाको घर आएका १४ वर्षीय टंक क्षत्रीको मृत्यु भएको छ । ब्लकको दुईतले कच्ची घरसँगै क्षत्री पहिरोमा पुरिएका थिए । परिवारका अन्य सदस्य भने भागेर बाँचेको कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए । यसैगरी, पहिरोले घरै बगाउँदा पोखरा–१९ अकलादेवी मन्दिरकी ३३ वर्षीया शोभा पौडेलको मृत्यु भएको छ । उनको शव करिब सय मिटर तल भेटिएको थियो ।

पर्वतको महाशिला गाउँपालिका–१ होस्राङीमा आइतबार बिहान पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय तीर्थ मल्ल ठकुरी, ८० वर्षीया आमा बेलकुमारी र ५५ वर्षीया श्रीमती यामकुमारी छन् । पहिरोले घरगोठ दुवै पुरिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीले बिहान १० बजे मात्रै शव निकाल्न सकेको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए । पहिरोको जोखिममा परेका नजिकैका अन्य ६ घरका बासिन्दालाई सुरक्षित स्थानमा सर्न लगाइएको छ ।पर्वतकै कुस्मा–९ कटुवाचौपारीको चिन्नेखोलाको बाढीले बगाउँदा स्थानीय ४५ वर्षीय दिलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्रबार रातिदेखिको अविरल वर्षापछि गएको पहिरोले पुरिँदा प्यूठानमा १ जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका ­३ रजबारास्थित पोखरा गाउँमा स्थानीय शेरबहादुर घर्तीको घर पुरिँदा १६ वर्षीया छोरी जयकलाको मृत्यु भएको हो । स्थानीयले उनको शव आइतबार बिहान निकालेका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics