धुर्मुस-सुन्तली माथि वन विनासको आरोप


हामीले कसरी वातावरणीय पक्षलाई असर नपुर्याई बस्ती निर्माण हुन्छ भन्ने विषयमा स्थानीयसँग बसेर छलफल गरिरहेका छौँ । 'नमुना नेपाल' बस्ती निर्माण गर्ने विषय स्थानीयको चाहाना अनुसार नै हुन्छ ।

सिताराम कट्टेल (धुर्मुस)



 

धुर्मुस सुन्तली फाउन्डेसनले ललीतपरको गोदावरी नगरपालिकाको लेलेमा निर्माण गर्न लागेको 'नमुना नेपाल' बस्ती निर्माण कार्य रोक लगाउन स्थानीयले माग गरेका छन् । स्थानीय सामुदायिक वन मासेर निर्माण हुन लागेको बस्तीले स्थानीय बासिन्दामा दीर्घकालीन असर पर्ने भन्दै यो बस्ती निर्माणमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

स्थानीय बासिन्दाले स्थानीयको स्वीकृति विना नै यो बस्ती निर्माण हुन लागेको र यसमा स्थानीयको असहमति रहेको जनाउँदै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, ललितपुर जिल्ला वन कार्यालय, धुर्मुस सुन्तली फाउन्डेसन, गोदावरी नगरपालिका र स्थानीय बन कार्यालयमा निवेदेन दिएका छन् ।

स्थानीयले जिल्ला प्रशाशन कार्यालयमा पेश गरेकाे ध्यानाकर्षण पत्र


बस्ती निर्माण गर्दा दीर्घकालीन रूपमा यो क्षेत्रमा वातावरणीय असर पर्ने स्थानीय प्रकाश सिलवालले नेचर खबर अनलाइनलाई जानकारी दिए । उनले भने, ‘बस्ती निर्माण हुँदा यहाँको २ हजार रोपनी सामुदायिक वन विनाश हुन्छ ।’ स्थानीय वासिन्दाको जिविकोपार्जनको स्रोत समेत रहेको यो सामुदायिक वन विनाश हुँदा गाई, बाख्रा पालन गर्ने किसान विशेषगरी मर्कामा पर्छन् ।

सिलवालले कुनै वैज्ञानिक अध्ययननै नगरी यो बस्ती निर्माण गर्न लागिएको आरोप समेत लगाए । उनका अनुसार सामुदायिक बन मासेर बस्ती निर्माण गर्न दिँदा भविष्यमा जोखिम पर्न सक्ने, प्राकृतिक विपत्ति आउन सक्ने, पानीको मुहान सुक्ने साथै त्यसठाउँमा पाइने दुर्लभ बन्यजन्तुको समेत लोप हुने जस्ता समस्या निम्तिन सक्छ ।

स्थानीयले दिएको निवेदनमा वन विनाश गरी बस्ती वसाउने कार्य तत्काल नरोके कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै स्थानीय नेता र वन अधिकारीसँगको सहकार्यमा यो काम अघि बढाउन लागिएको आरोप स्थानीयले लगाएका छन् ।

भूकम्प पश्चात् ठाउँठाउँमा बस्ती बनाएका धुर्मुस सुन्तली फाउन्डेसनले पछिल्लो समय ललितपुरको लेले र बडिखेलको सिमानामा झन्डै २ हजार रोपनी सामुदायिक वनको जग्गामा मिनी नेपाल बनाउने महत्वकांक्षी परियोजना बनाएका हुन् । उक्त मिनी नेपाल बस्ती परियोजनामा ३ वटा होटलको निर्माण गर्ने योजना रहेको स्थानीय समक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी गराएका थिए ।

बस्ती निर्माण गर्ने विषयमा भने स्थानीय सकारात्मक रहेको कट्टेलले जानकारी दिए । उनले भने, ‘बस्ती निर्माणका लागी स्थानीयको सहयोग रहेको छ । कसरी वातावरणीय पक्षलाई असर नपुर्याई बस्ती निर्माण हुन्छ भन्ने विषयमा हामीले स्थानीयसँग बसेर छलफल गरिरहेका छौँ ।’ बस्ती निर्माण गर्ने विषय स्थानीयको चाहाना अनुसार नै हुने कट्टेलले जानकारी दिएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics