३ वर्षदेखि खडेरी, पिउने पानीकै हाहाकार

तस्विर: कान्तिपुर


असार सकिएर साउन लागिसक्दा यतिखेर प्राय सबै जिल्लामा खेतीपातीको काम सकिनै लागेको छ । तर कालिकोटको विकट पलाता गाउँपालिकामा पर्ने खिन र धौलागोहका अधिकांश जमिन बाँझै छन् । यो खबर हामीले बुधबारको कान्तिपुरबाट लिएका हौँ । बुधबारको कान्तिपुरमा कालिकोटबाट तुलाराम पाण्डे लेख्छन्, तीन वर्षदेखिको खडेरीले यहाँका किसानले खेती लगाउन पाएका छैनन् । पिउने पानीको समेत हाहाकार छ ।

अधिकांश गाउँलेको दैनिकी ज्याला मजदुरी गरेर छिमेकी बजार र खाद्य संस्थानका केन्द्रमा चामलका लागि धाउँदैमा बित्ने गरेको छ । सदरमुकाम मान्मबाट पैदल दुई दिन टाढाको खिन र धौलागोहका पाखामा खडेरीकै कारण घाँस पनि राम्ररी उम्रिएका छैनन् । केतुकी र सिउँडीका बुट्टाबाहेक अन्य रूखबिरुवा देखिँदैनन् ।
‘तीन साल (वर्ष) भयो, सुक्खा खडेरी परेको,’ धौलागोह खाडाका नन्दाखर न्यौपानेले स्थानीय लवजमा भने, ‘हिउँदे बाली त लाइनै पायानै (लगाउनै पाइएन), वर्षे बाली पनि सुकेर गयो ।’ उनले थपे, ‘बेसाहा गर्नाले (खाद्यान्न खोज्दै) गली गया (थाकिसक्यौं) क्या खाएर परानी धानौं (के खाएर ज्यान जोगाऊँ) ?’

धौलागोह कालिकोटकै सबैभन्दा बढी जनसंख्या बसोवास गर्ने क्षेत्र हो । यहाँका १ हजार ४ सय घरधुरीमा ७ हजार बढीको बसोवास छ । यहाँ १० प्रतिशत स्थानीयलाई त्यो पनि ३ महिना मात्र खान पुग्ने अन्न उब्जिने गर्छ । अरू सबैले पानी नपरेको वर्ष ‘बेसाहा’ खोज्नैपर्ने बाध्यता छ ।

खडेरीका कारण अधिकांश किसानले हिउँदे बाली लगाउन त पाएनन् नै, केहीले लगाए पनि पर्याप्त पानी नपरेकाले उत्पादन नहुँदा खाद्य संकटले चर्को रूप लिएको छ । ‘अघिल्ला वर्षहरूमा विश्व खाद्य कार्यक्रमको ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालन भएकाले केही भरथेग थियो, तर यो वर्ष त्यो कार्यक्रम छैन, खानेकुराको चर्को समस्या छ,’ पलाता–१ का वडाध्यक्ष मानबहादुर भण्डारीले भने । पानीका मूल सुकेपछि पिउने पानीको पनि हाहाकार छ । खानेपानीका लागि डेढ–दुई घण्टा टाढाका परम्परागत धारा, कुवा र पँधेरोमा ५–६ घण्टा लाममा बस्नुपर्ने बाध्यता छ । अन्न मात्र होइन, तरकारी पनि उब्जनी हुन सकेको छैन । खोल्साखोल्सीमा समेत सिस्नो, निगुरो पलाएको छैन ।

बान्जाडा गाउँका १ सय २२ घरधुरीका लागि एउटा मात्र मसिनो धारामा पानी थाप्न तँछाडमछाड हुने गरेको छ । ‘कैयौँ दिन त पानी भर्नकै लागि कुटाकुट हुन्छ,’ एकल महिला आम्पुरा प्याकुरेलले भनिन्, ‘पानी थाप्न लाइनमा बस्न जाने व्यक्ति नहुने घरकाले त पानी थाप्न पनि पाउँदैनन् ।’ खानेपानी समस्या समाधान गर्न २५ धाराको बृहत् बुड्ने खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिए पनि धारामा पानी नपुग्दै मूल सुकेर योजना अलपत्र छ ।

तस्विर : कान्तिपुर


दुई करोडभन्दा बढी लागतको योजना पूरा भए पनि स्थानीय बासिन्दाले पानी पिउन त पाएका छैनन् नै, योजनामा काम गरेको पैसा पनि पाउन सकेका छैनन् । ‘पैसा सकियो, पानी आएन,’ तत्कालीन धौलागोह गाविस सचिव एवं उपभोक्ता समितिका अध्यक्ष विष्णुकान्त प्याकुरेलले भने, ‘चार वर्ष लगाएर योजना सम्पन्न भयो, पानीको मूल नै सुकेपछि धाराबाट कसरी पानी झरोस् ’ उनले केही रकम खानेपानी कार्यालयबाट लिन बाँकी रहेकाले उपभोक्तालाई उपलब्ध गराउने बताए । खिन र धौलागोहमा खानेपानीको मूल पनि नजिक छैनन् ।

सदरमुकाम मान्मबाट पश्चिम उत्तरी पलाता भेकमा पर्ने धौलागोह, खिन, थिर्पु, राम्नाकोट, नानीकोट र बदालकोटको ४ देखि ९ नम्बर वडासम्म खडेरीले गर्दा हाल खाद्य संकट नै सुरु भएको छ । तल्लो भेगका गाउँमा सडक नजिक पुगेकाले खाद्यान्न ढुवानी गर्न त्यति कठिन नभए पनि सडक पहुँचबाट निकै टाढा रहेका खिन र धौलागोहमा जिते, सान्निगाड बजारबाट चामल बोकेर लैजान पनि कठिन छ ।

खडेरीले पलाता क्षेत्रका करिब ३५ हजार बासिन्दा प्रत्यक्ष प्रभावित छन् । अन्य गाविसमा खडेरीले त्यति धेरै असर नपरे पनि पलाताका खिन धौलागोहमा उत्पादन नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘पलातामा त पोहोर परार पनि खाद्यान्न उत्पादन भएन,’ वरिष्ठ कृषि विकास अधिकृत सुनीलकुमार सिंहले भने, ‘खडेरी भएकाले १८ लाखको फापर खेतीको कार्यक्रम परेको छ ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत फापर खेतीसहितको कामका लागि जिल्ला कृषि कार्यालयले ४२ लाखको कार्यक्रम सञ्चालन गर्दैछ ।

तस्विर : कान्तिपुर


आकासे पानीको भरमा खेती गरिने पलाता भेकमा खडेरीले उत्पादन नभएपछि खाद्यान्न संकट परेको धौलागोह–५ का प्रभुलाल न्यौपानेले बताए । त्यस क्षेत्रमा बाली काट्न नपाएको ३ वर्ष भइसकेको सुनाउँदै उनले बाली लगाए पनि खडेरीले उत्पादन नै नभएको गुनासो पोखे । ‘हामीलाई बिख (विष) खानु भयो,’ जितेगडाबाट ब्याजे ऋण खोजेको पैसाले चामल लिएर फर्केका पलाता–२ मिजुवाडाका नरिमाने विश्वकर्माले भने, ‘कसरी बाचौँ हामीसँग आजबेली (आजभोलि) दाम, काम र माम (अन्न) केही छैन ।’ उनका अनुसार थिर्पुबाट ठाडै उकालोमा पलाता भेकका बासिन्दाले पिठ्युँमा चामल बोकेर लैजान पनि कठिनाइ छ ।

तीन वर्षपछि असार अन्तिम साता हल्का वर्षा भने भयो । ‘त्यही वर्षाले भिज्न खोजेको सुक्खा खेत खोस्रेरै भए पनि कोदो रोप्न खोजिरहेका छन् गाउँलेहरू,’ स्थानीय भाउरी विकले भनिन्, ‘ओस (माटोको चिस्यान) सुकेपछि फेरि कोदो नसर्ने पिरलोले राति पनि टर्च बालेर खेतबारीमा काम गरिरहेका छौं, पर्याप्त पानी नपरे त्यही कोदो पनि मर्ने चिन्ता छ ।’ स्थानीय मनकला प्याकुरेलका अनुसार पाखोबारी धेरै भएको धौलागोह र प्राय ठाडोबारी रहेको खिनमा तीन वर्षअघिसम्म पर्याप्त वर्षा भएमा वर्ष दिनलाई खान पुग्ने कोदो र मकै फल्ने गरेको थियो ।

 

सदरमुकाममा विकेन, गाउँमा पुगेन


सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल सदरमुकाम मान्ममा बिक्री हुन छाडेको छ भने गाउँका डिपोमा ढुवानी हुन सकेको छैन । खाद्य संकट भएको पलाता क्षेत्रको थिर्पु डिपोमा एक बोरा पनि चामल छैन । थिर्पुस्थित रणबहादुर बमको घरमा रहेको डिपोमा न चामल छ न कर्मचारी छन् । ‘महिनौं भयो रित्तो छ डिपो,’ घरधनी बमले भने, ‘चामल पाइन्छ कि भनेर दिनदिनै सोध्न आउँछन्, रित्तै फर्किन्छन् ।’ खाद्य संस्थान मान्म शाखा प्रमुख अनिल श्रेष्ठले गत वर्षको कोटा सकिएकाले त्यहाँ चामल नभएको स्विकारे । ‘यस वर्षको ढुवानी टेन्डर स्वीकृत भइनसकेकाले चामल गएको छैन,’ उनले भने ।

गत वर्ष कालिकोटमा कोटाको ७ हजार ८ सय क्विन्टल र पछि थप भएको ८ हजार गरी १५ हजार ८ सय क्विन्टल चामल आएकोमा थिर्पु डिपोबाहेक अन्यत्रको चामल मौज्दात छ । थिर्पु डिपोका लागि मान्मबाट १ हजार ९ सय ९९ क्विन्टल र सुर्खेतबाट ६ हजार ४ सय क्विन्टल गरी ८ हजार ३ सय ९९ क्विन्टल चामल पलाता ढुवानी भएको थियो । हाल मान्ममा २ हजार १ सय ४७, खल्लागाडमा २ सय ६ र पादमघाटमा १ सय ७ क्विन्टल चामल मौज्दात छ ।

सशस्त्र द्वन्द्वका बेला गाउँबाट विस्थापित भएर सदरमुकाम मान्ममा सीमित भएको थिर्पु खाद्य डिपोको चामल गाउँको नाममा पठाइए पनि स्थानीयले ठेकेदारले सम्बन्धित ठाउँमा नपुग्दै बिक्री गरेको गुनासो स्थानीयको छ । खिन, धौलागोह र थिर्पुका लागि राखिएको डिपो धौलागोह र खिनका बासिन्दाका लागि ठाढा पनि छ । डिपोकै चामल लिन पनि दुई दिन लाग्छ ।

 

बसाइँसराइ


चर्को खडेरीका कारण गर्मीले गाउँमा बस्न नसकेर धौलागोह बान्जाडा गाउँका बासिन्दा परिवार र गाईभैंसी लिएर तलसेरी लेकतिर बसाइँ सरेको धौलागोह–५ का सनत न्यौपानेले बताए । उनका अनुसार पशुपालनसमेत गर्न नसक्ने अवस्थामा गाउँले पुगेका छन् ।

‘पानीकै समस्याले केही चौपाया मरे, केही सस्तोमा बिक्री गर्न थालेका छौं,’ खिन गाविसका बिर्खबहादुर बमले दुःख पोखे । पलाता क्षेत्रका बासिन्दासँग खाद्यान्न किन्ने पैसाको पनि अभाव छ । ‘गाउँमा ऋण सापट नपाइने अवस्था छ,’ खिन–१ नेटाका गंगबहादुर बुढाले भने, ‘घरमा रहेका तामा, पित्तल, काँसका भाँडाकुँडा र गरगहनासमेत सस्तोमा बेच्दै सकिए, अब केही छैन ।’

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics