हिउँ चितुवा जोगाउने छ योजना (भिडीयाे सहित)
- नेचर खबर
 
                                                        
केही वर्षअघि मनाङकाे एउटा गाउँमा खोरभित्र थुनेर राखिएका दर्जनौं भेडा र बाख्री हिउँ चितुवाले मारिदियो । गोठभित्रै छिरेर मारेपनि उसले त्यसको मासु नखाइ छोडेर फर्कियो । वन्यजन्तु विज्ञहरु यस्ता घटनालाई 'सरप्लस किलिङ वा मल्टिपल किलिङ' भन्छन् । हिउँ चितुवाले गोठभित्रै छिरेर त्यस्तो विनास किन मच्चायो होला ।
प्राध्यापक डा. करनबहादुर शाहका अनुसार, भ्रममा परेर वा अलमलमा परेर भेडा र बाख्रीमाथी आक्रमण गरेको हुनसक्छ । हिउँ चितुवा गोठ भित्र पसेपछि बाख्रीहरुले ठुलो हल्ला खल्ला गर्छन् । अत्तालिएको हिउँ चितुवा बाहिर निस्कने ठाउँ नभेटेपछि यता उता दर्गुछ र छेउमा भेटेका सबै भेडा र बाख्री मारिदिन्छ ।
उच्च हिमाली भेगमा बस्ने हिउँ चितुवा र मानिसबीचको द्धन्द्ध बढिरहेको छ । यो एउटा यस्तै द्धन्द्धको एउटा उदाहरण पनि हो ।
अर्को साता किर्गिस्तानको बिस्केकमा हुन लागेको हिउँ चितुवा पाइने देशको मन्त्रीस्तरीय बैठकमा हिउँ चितुवा बचाउदाका चुनौती र आगामी योजना तय हुँदैछन् । प्रकृतिको यो सुन्दर उपहार बचाउनका लागि विश्वभरि धेरै चुनौती छन् ।
हिउँ चितुवामा काम गर्ने विभिन्न देशका संस्थाहरूको सञ्जाल (स्नो लिओपर्ड नेटकर्व) का तर्फबाट नेपालबाट विश्ववन्यजन्तु कोषले हिउँ चितुवा जोगाउने विभिन्न नीति तथा कार्यक्रमहरू सरकारका प्रतिनिधिसमक्ष प्रस्तुत गर्दैछ ।
हिमाली भेगमा पाइने यो सुन्दर जनावर बचाउन हिउँ चितुवा पाइने १२ देशका नीति निर्माता तथा संरक्षणकर्मी छलफल गर्नका लागि नेपाल सरकार तथा सरोकारवाला निकायले संयुक्त रूपमा छलफलका लागि केही बुँदा तय गरेका छन् ।
नेपालले हिउँ चितुवा सञ्जालका तर्फबाट आगामी साता प्रस्तुत गर्ने अवधारणा पत्रमा हिउँ चितुवा बचाउनका लागि छ वटा विषयमा ध्यान दिँदै तत्काल योजना बनाउन आवश्यक भएकोमा जोड दिइएको छ ।
नेपालमा पहिलोपटक हिउँ चितुवामैत्री संरक्षण क्षेत्र बनाउने कामसमेत अघि बढिरहेको जानकारी विश्व वन्यजन्तु कोष नेपालका संरक्षण निर्देशक डा. घनश्याम गुरुङले दिए ।
नेपालको नेतृत्वमा विश्वसमुदायसमक्ष हिउँ चितुवा बचाउने केही विषयमा विशेष ध्यान दिनुपर्नेछ । विश्ववन्यजन्तु कोषका वन्यजन्तु विज्ञ कञ्चन थापाले नेपालले हिउँ चितुवा बचाउन गरेका उल्लेख्य प्रयास र पहल विश्व समुदायका लागि नौलो र प्रभावकारी उपाय हुने बताए । यिनै सिकाइ र अनुभवका आधारमा नेपालले हिउँ चितुवा पाइने १२ देशका प्रतिनिधीबीच केही महत्त्वपूर्ण एजेण्डा प्रस्तुत गर्दैछ ।
https://youtu.be/pkNcJg3yYEs
१. भौतिक पूर्वाधारको निर्माण
हिमाली भेगमासमेत विभिन्न निर्माण परियोजना सुरु भइरहेको र भविश्वयका योजनासमेत सार्वजनिक भइसकेकोले हिउँचितुवा बचाउन सकिने भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउनुपर्छ ।
२. जलवायु परिवर्तन
विश्वव्यापी समस्या बनिरहेको जलवायु परिवर्तनका कारण पनि हिउँ चितुवाहरु समस्यामा परेकोले उनीहरूको जीवन रक्षाका लागि जलवायु परिवर्तनका समस्यामाथीसमेत गम्भिरताकासाथ छलफल गर्न आवश्यक छ ।
३. सामुदायिक संरक्षण अभियान
नेपालले हिउँ चितुवाको संरक्षणमा सामुदायिक प्रयासलाई सफल उदाहरणका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाइसकेकोले संरक्षणको यो ढाँचा संसारभरि अपनाउनुपर्छ । कञ्चनजंघा संरक्षण क्षेत्रमा हिउँ चितुवा बचाउन गरेको प्रयास सफल प्रयासका रूपमा चिनिन्छ ।
४.सहकार्य
हिउँ चितुवा बचाउनका लागि निजी तथा अन्य विभिन्न सरोकारवालासंगको सहकार्य आवश्यक छ । राष्टिय तथा अन्तर्राष्टिय रूपमा सहकार्य गर्दै निजी क्षेत्र तथा बैकहरुलाईसमेत संरक्षण अभियानमा ल्याउनुपर्छ ।
५.वन्यजन्तुसम्बन्धी कानुन
वन्यजन्तु अपराधसम्बन्धी कानुनहरूलाई थप कडा बनाउँदै लैजानुपर्छ । वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने कानुन निर्माणसंगै कार्यान्वयनतर्फ पनि विशेष जोड दिनुपर्छ ।
६. विज्ञान र प्रविधि
हिउँ चितुवाको संरक्षणलाई व्यवस्थित र प्रभावकारी बनाउन वैज्ञानिक अध्ययनसमेत आवश्यक छ । विज्ञान र प्रविधिको प्रयोगले हिउँ चितुवाको वासस्थानदेखि वंशाणुगत विशेषता पहिचान गर्दै वैज्ञानिक संरक्षण प्रयास अघि बढाउनुपर्छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस