बाढीले ९ बन्यजन्तु मरे, २५ अझै बेपत्ता



अविरल वर्षासँगै गत साता आएको बाढीका कारण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका वन्यजन्तु प्रभावित भएका छन् । बाढीका कारण ९ वटा वन्यजन्तु मरेका छन् भने दर्जनौं घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा दुई वर्षको भाले गैंडा, एउटा रतुवा मृग र पाँचवटा चित्तल गरी ७ बन्यजन्तु मरेका छन् भने बर्दीया राष्ट्रिय निकुञ्जमा एउटा भाले चित्तलमृत फेला परेको छ ।

बाढीकै कारण कृष्णसार संरक्षण क्षेत्रबाट २५ वटा कृष्णसार हराइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता नारायण रुपाखेतीका अनुसार कृष्णसार संरक्षण क्षेत्रमा एउटा कृष्णसार मृत अवस्थामा फेला परेको छ भने दुईवटालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

प्रकोपबाट बचाउन कृष्णसार संरक्षण क्षेत्रमा माटोको अग्लो ढिस्को (उच्चस्थली) बनाएको भए पनि बाढीबाट कृष्णसार बच्न सकेनन् । विभागका प्रवक्ता नारायण रुपाखेतीले तीन फिट होचो भएका हुनाले त्यसलाई बढाउन आवश्यक भएको बताए ।

यसै गरी पर्सा रष्ट्रिय निकुञ्जलाई पनि बाढीले भौतिक क्षति पुर्याएको छ । वन्यजन्तुको क्षति नभएपनि पानी खाने पाइपमा भौतिक क्षति पुगेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । यस्तै, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने बाढीले खासै क्षति नगरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

अन्य जिकुञ्जमा पनि साना जनावरहरु चित्तल, रतुवा र लगुना बाढीले बगाउने खतरा भएकोले उच्चस्थली आवश्यक भएको संरक्षणकर्मीहरुको भनाई छ ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics