फैलियो भाइरल ज्वरो, सिटामोल अभाव समस्या

भाइरल ज्वरो फैलिएको वनगाड कुपिन्डे नगरपालिकामा एकै घरका तीन/चार जनासम्म बिरामी परेका छन् । वनगाड क्षेत्रमा मात्र नभई जिल्लाभरि भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए । उनले सरुवा रोग भएकाले यसबाट बच्न पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरे ।

बगान्डा स्वास्थ्य चौकीमा सिटामोलको अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । लामो समय हिँडेर उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी औषधि नपाउँदा खाली हात फर्किने गरेका छन् । त्रिभुवन जनता मावि मूलखोलाका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले ज्वरोका कारण दैनिक दर्जनभन्दा बढी बालबालिका बिरामी हुने गरेको र नजिकैको स्वास्थ्यचौकीमा उपचारका लागि पठाउँदा औषधि नपाएर समस्यामा परेको बताए ।
भाइरल ज्वरोको प्रकोप बढदै गएकाले कतिपय बालबालिकाले त्रैमासिक परीक्षासमेत गुमाएको उनले जनाए । उनले स्वास्थ्यचौकीमा सिटामोल मात्र नभई अन्य औषधिको अभाव भएको जानकारी गराए ।

बिरामी नि:शुल्क पाउने औषधि निजी मेडिकलबाट किनेर खान बाध्य छन् । नगरपालिकाअन्तर्गत देवस्थल, मूलखोला, बाँमे, घाँजरीपीपल, माँझकाडा, निगालचुला र कुपिन्डे दहमा स्वास्थ्यचौकी भए पनि अधिकांशमा सिटामोल नभएको बिरामीका आफन्तले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा सिटामोल नभएका कारण घरमा बिरामी भएका दुई छोराछारीले औषधि खान नपाएपछि दुई सयभन्दा बढी रुपैयाँ खर्च गरेर औषधि किनी खुवाएको मूलखोलाकी प्रेमी नेपालीले बताइन् । आर्थिक अवस्था कमजोर भएकी उनले बालबालिकालाई उपचार गराउन समस्या भएको दुखेसो पोखिन् ।

असारमा ल्याएको औषधि सकिएको र साउनमा आउनुपर्ने औषधि सडक अवरुद्ध भएकाले अहिलेसम्म नआउँदा स्वास्थ्य संस्थामा सिटामोललगायत औषधि अभाव भएको वनगाड कुपिन्डे नगरपालिकाका स्वास्थ्य फोकल पर्सन वासुदेव पोखरेलले बताए । उनका अनुसार यातायात सञ्चालन नहुँदा कहिलेकाहीं जिल्ला स्वास्थ्य कार्यालय जाँदा दुई/चार सय ट्याबलेट ल्याई चलाउने गरिएको छ । थोरै औषधि दुई/तीन दिनभित्रै सकिने भएकाले समस्या बढेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका स्टोरकिपर महादेव कसाईले स्वास्थ्य चौकीका इन्चार्जले फोनमार्फत औषधि तयार गरिदिन आग्रह गरेपनि अहिलेसम्म लिन नआएको बताए । उनले सडक अवरुद्ध भएकाले गाडीमा औषधि पुर्‍याउन नसकेको जानकारी गराए ।

कान्तिपुरबाट

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics