चीनलाई दुई चरणमा गैंडा उपहार

फाइल फाेटाे


नेपाल सरकारले चीनलाई दुई चरणमा गरेर चारवटा एकसिंगे गैंडा उपहार दिने भएको छ । यो आर्थिक वर्ष २०७४/७५मा एकजोडी गैंडा र अर्का आर्थिक वर्ष साउन पछि अर्को जोडी गैंडा चीनलाई उपहार दिने तयारी गरिएको हो ।

वन तथा भू–संरक्षण मन्त्रालयको जैविक विवधता तथा वातावरण महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार ऐनमा एक पटकमा एक जोडी मात्र उपहार दिन सक्ने व्यवस्था छ । त्यसैले दुई पटक गरेर दिइने ढकाले बताए । उनले भने , ‘चीनको दुईवटा फरक पार्कमा गैंडा दुईचरणमा गरेर गैंडा लगिने छ । ’

२०७३ साल असारमा तत्कालीन केपी ओलीको अध्यक्ष्यतामा बसेको मन्त्रिपरिषद बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । सरकारले २०७४ वैशाख १० मा साईटिस ऐन राजपत्रमा प्रकाशित गरेको थियो ।

साइटिस एनमा कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धान प्रयोजनका लागि नेपाल सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको संकटापन्न वन्यजन्तु नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकका रूपमा उपहारस्वरूप त्यस्तो मुलुकलाई उपलब्ध गराउन सक्नेछ भनी उल्लेख छ।नेपालको गैंडा चीनको चिडियाखाना सांघाइमा एकजोडी र ग्वान्जाओमा अर्को एकजोडी राखिने छ ।

गैंडा हस्तमरण गर्नुअघि जंगलमा बसेको गैंडालाई आनिबानी र खानपिनमा परिवर्तन तथा व्यवहार परिवर्तनका लागि वातावरण अनुकुलित गर्नेको लागि सरकारले छ महिना खोरमा राख्ने तयारी गरिरहेको छ ।

गत आइतबार नेपाल र चिनियाँ सरकार बिच सम्पन्न भएको बैठकले गैंडा हस्तान्तरणको कार्ययोजना बनेको थियो ।  तीन दिन अघि चीनको वन मन्त्रालयबाट आएका सातजना अधिकारीसमेतको टोली चितवन राष्ट्रिय निकुञ्ज घुमेर वस्तुस्थति जानकारी लिएर आज स्वदेश फर्कका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics