वन्यजन्तुबाट २२ को मृत्यु, ४३ घाइते



गत आर्थिक वर्ष (२०७३/७४) मा मात्रै वन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार वन्यजन्तु आक्रमणबाट सबैभन्दा धेरैको चितवन राष्ट्रिय निकुञ्जमा मुत्यु भएको छ ।

पछिल्लो समयमा पनि वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने क्रम रोकिएको छैन । यसले मानव र वन्यजन्तुबीचको द्धन्द्धको स्थिती झन् गम्भिर बनाएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ५ जना, कोशीटप्पु वन्यजन्तु आरक्षमा ३ जना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १ जना मृत्यु भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु राष्ट्रिय निकुञ्जबाट भने वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्षमा एक जनाको पनि ज्यान गएको छैन ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार, सबैभन्दा धेरै गैंडाको र हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यसैगरी हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट ५ जना , चितवन राष्ट्रिय निकुञ्जमा ३ जनाको र कोशीटप्पु वन्यजन्तु आरक्षमा २ जनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बंदेलको आक्रमणबाट १ जना र कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

घाइते थपिँदै

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ४३ जना घाइते भएका छन् । घाइते हुनेमा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जको रहेका छन् । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ३१ जना घाइते भएका छन् । यस निकुञ्जमा गैँडाको आक्रमणबाट १९ जना, जंगली हात्तीको आक्रमणबाट २ जना, बाघको आक्रमणबाट २ जना, भालुको आक्रमणबाट १ जना र बंदेल आक्रमणबाट ७ जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुको आक्रमणबाट ३ जना घाइते भएका छन् । जसमा गैँडाको आक्रमणबाट १ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका छन् ।यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बंदेलको आक्रमण बाट ५ जना घाइते भएका छन् । मकालु बरुण राष्ट्रिय निकुञ्जमा हिमाली कालोभालुको आक्रमणबाट ४ जना घाइते भएका छन् ।

२७७ पशुधनको क्षती

जंगली जनावरको आक्रमणबाट २ सय ७७ वटा घरपालुवा जीवजन्तुको मृत्यु भएको छ । सबैभन्दा धेरै पशुधनको क्षती एकसय २३ वटा बर्दिया राष्ट्रिय निकुञ्जमा भएको छ । जसमा चितुवाबाट ९३, बाघबाट १५, गोहीबाट ८ र हात्तीबाट ७ रहेका छन् । बर्दियापछि पशुधनको सबैभन्दा धेरै क्षती चितवनमा भएको छ । चितवनमा भएका एक सय तीन  वटा क्षतीमध्ये चितुवाबाट ६५, बाघबाट ३६ र जंगली हात्तीबाट एक रहेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जमा ३६ वटा पशुको वन्यजन्तुको आक्रमणबाट मरेका छन् ।जसमध्ये हिउचितुवाबाट १० वटा, चितुवाबाट ६ वटा र ब्वाँसोको क्रममणबाट २० वटा पशुधन क्षती भएको हो ।यसगैरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चितुवाबाट ११ वटा, मकालु बरुण राष्ट्रिय निकुञ्जबाट ४ वटा पशुधन क्षती भएको छ ।

वन्यजन्तुको आक्रमणबाट २ सय ७२ वटा घर गोठ क्षती भएको छ । घरगोठ क्षतीमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा २ सय ५६ घर गोठ क्षती भएको छ । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा १५, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा घरगोठ क्षती भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा घर गोठ क्षती भएको छैन ।

अन्नबालीमा उल्लेख्य क्षती

गत आर्थिक वर्ष २०७३ /७४ मा ५८ स्थानमा भण्डारण गरेको अन्नबाली क्षती भएको छ । सबैभन्दा धेरै अन्नबाली क्षती चितवन राष्ट्रिय निकुञ्जमा भएको छ । चितवनमा ४७ स्थानमा हात्तीको कारणबाट भण्डारण गरेको अन्नबाली क्षती भएको छ । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको कारणबाट ११ स्थानमा अन्नबाली क्षती भएको छ । यसैगरी ९ सय २२ स्थानमा लगाइएको बालीनाली क्षती भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ४ सय ५८ स्थानमा वन्यजन्तुले वालीनाली क्षती गरेका छन् । यसैग्नरी चितवन राष्ट्रिय निकुञ्जमा गैंडाबाट १ सय ७७ र हात्तीबाट १ सय ७१ स्थानमा वालीनाली क्षती भएको छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीले १ सय १६ स्थानमा लगाएको बालीनाली क्षती गरेको छ ।वन्यजन्तु खेतबारीमा लगाएको वालीनाली नष्ट गर्ने तथा मानिसलाई आक्रमण गर्ने क्रमसँगै मानिसले समेत वन्यजन्तुलाई आक्रमण गर्ने र घाइते बनाउने क्रम बढिरेको छ ।

सरकार तथा विभिन्न संघ संस्थाले मानव वन्यजन्तु द्धन्द्ध कम गर्ने विभिन्न कार्यक्रम जारी राखेपनि उल्लेख्य उपलब्धि भएको देखिँदैन ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सरकारको तर्फबाट वन्यजन्तु क्षती न्यूनिकरणको लागि सचेतना कार्यक्रमहरू भइरहको जानकारी दिए । उनले भने, ‘राहात तत्काल उपलब्ध गराउने , सचेतनाको कार्यमहरु र वन्यजन्तु क्षती न्यूनिकरण्का लगानी बढाउने जस्ता कार्य प्राथमिकताको साथ भइरहेको छ । ’ साथै एसएमएस अलर्ट र तारबार लगाउने जस्तो कार्य अघि बढिरहेको खड्काले बताए ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics