भाले भन्दा पोथी बाघ धेरै

यसपटक बाघको संख्या वृद्धि भएसँगै अर्को पनि खुसीको खबर आएको छ । सरकारले हालै सार्वजनिक गरेको बाघको छुट्टा छुट्टा फोटो पहिचानमा  दुईसय ९ मध्ये एकसय १९ पोथी छन् ।

२ सय ३५ मा बाघको संख्यामा २०९ बाघको छुट्टा छुट्टै फोटो पहिचान भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

फोटो पहिचान भएका मध्ये ८० वटा भाले , १ सय १९ वटा पोथी र १० को लिंग पहिचान नभएका छन् ।

बाघको जनसंख्या वृद्धिको लागि प्राकृतिक रूपमा भाले भन्दा पोथी बाघको संख्या धरै भएकोले विज्ञहरूले राम्रो संकेत मानेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौंडेलले फोटा पहिचानबाट पनि नेपालमा भाले भन्दा पोथी बाघको संख्या धेरै रहेको बताए । उनले भने , ‘बाघको संख्या वृद्धिमा यसले अझ धेरै सकारात्मक भूमिका खेल्ने छ ।’

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रका २२ हजार वर्गकिलोमिटर क्षेत्रफलमा बाघको गणना गरिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जमा ५ वटा भाले र १० वटा पोथी पहिचान भएको छ ।

त्यस्तै चितवनमा राष्ट्रिय निकुञ्जमा ३० वटा भाले र ५० वटा पोथी पहिचान भएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जमा ३० वटा भाले र ४३ पोथी छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा ६ वटा भाले र १० पोथी पहिचान भएको छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा भने ९ वटा भाले र ६ वटा पोथी रहेका छन् ।

पर्सा , चितवन , बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पोथीको संख्या धेरै रहेको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पोथी भन्दा भाले बाघको संख्या धेरै रहेको छ । पहिचान नछुट्टिएको चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा , बाँके राष्ट्रिय निकुञ्जमा एउटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा रहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु अनुसन्धान अधिकृत तथा जीव शास्त्री बाबु राम लामिछानेले अनुसार एउटा भाले बाघले तीनवटा देखी ४ वटा पोथीको क्षेत्र ओगेटेको हुन्छ ।उनले भने , ‘बच्चा जन्माउने पोथीले भएकोले पोथीको संख्या धेरै हुनु प्राकृतिक रूपमा नै राम्रो हो । ’

पोथी बाघ बढी हुँदा थप बच्चा (डमरु) जन्मने र संख्या बढ्ने संभावना बलियो हुने विज्ञहरूको निष्कर्ष छ ।

भाले धेरै भएभने एकअर्कासँग जुधेर मर्ने र रिसाहा स्वभावको हुने भएर मानव र वन्यजन्तु द्धन्द्धमा बढि संग्लन हुने लामिछानेले बताए ।

पोथी बाघ भाले बाघको तुलनामा कमै मात्र द्धन्द्ध संग्लन हुने लामिछानेले जानकारी दिए ।

भाले बाघले आफ्नो क्षेत्र परिवर्तन गरिरहेको पनि राम्रो मानिन्छ जसले जनसंख्या वृद्धिको लागि मद्दत गर्छ । ।कहिले काही  यसरी क्षेत्र परिवर्तन गर्दा भाले बाघले अरु भालेबाट जन्मेको बच्चाहरु मार्न नि गरेको पाइएको छ ।

बाघको अवैध व्यापारमा नियन्त्रण र नियमन, संरक्षित क्षेत्रमा नियमित गस्ती, सुरक्षा तथा चेकजाँचको काम हुने गरेको छ भने जासुसी कुकुरको पनि प्रयोग गरिँदै आएको छ ।

बासस्थानामा ह्रास हुने, खण्डिकरण र क्षयीकरण हुने, क्षेत्रफल घट्ने, गैरकानुनी कार्य हुने, मानव—बाघ द्वन्द्व सिर्जना हुने, विभिन्न रोगको प्रकोप हुने, जनचेतनामा कमी र जलवायु परिवर्तनलगायतका कारणले बाघको संरक्षणमा ठूलो चुनौती थपिएको छ ।

विश्वमा बंगालेदेश, भियतनाम, कम्बोडिया, भारत, भुटान, थाइलाण्ड, इन्डोनेसिया ,लाओस ,चीन ,मलेसिया , रसिया ,म्यानमार र नेपालसहित १३ वटा देशमा बाघ पाइन्छ ।अहिले विश्वमा झन्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।बाघको बादर , मृग र बँदेल लगायतको वन्यजन्तु आहार हो । हरेक पाँच वर्षमा गरिँदै आएको बाघको गणना यसअघि सन् २०१३ मा गरिएको थियो । त्यसक्रममा नेपालमा वयस्क बाघको संख्या १९८ देखिएको थियो ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics