न्यूनचापीय प्रणालीले वर्षा



मध्यसागर हुँदै बलियो पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि काठमाडौ सहित देशभरी नै वर्षा भएको छ ।

न्यूनचापीय प्रणाली सरिया, इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर पश्चिमी भारत हुँदै यो प्रणाली सोमबार नेपाल भित्रिएको हो ।

पश्चिम भेगका कम उचाइमा पनि यस पटक बाक्लो हिमपात भएको छ । उच्च र हिमाली भागमा दुई फिटसम्म हिउँ छ । जल तथा मौसम पूर्वामान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली भित्रिएसँगै देशैभर बदली भएको छ । पश्चिम न्यूनचापीय प्रणाली सुरु हुने सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्डमा पनि दुई दिनदेखि बाक्लो हिमपात छ ।

पूर्वको तुलनामा पश्चिमी भूभागमा न्यूनचापीय प्रणालीको असर बढी परेको छ । काठमाडौंमा पनि मंगलबार बिहानैदेखि साझ सम्म मौसम बदली भई चिसो बढेको थियो । पूर्वी भागमा भने पूर्ण बदली भएको छैन ।

पूर्वी हिमाली भेगमा भने थोरै स्थानमा मात्र हिमपात भएको छ । बुधबार पनि देशैभर मौसम बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । ‘पश्चिमी क्षेत्रका अधिकांश तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ,’ महाशाखाका बुलेटिनमा उल्लेख छ, ‘हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपातको पनि सम्भावना देखिन्छ ।’

पूर्वी भागमा भने बुधबारदेखि नै सुधार आउनेछ । पश्चिमी क्षेत्रमा बिहीबार फेरि अर्को प्रणाली भित्रिने देखिएको छ ।

गए रातिको झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics