बिहीबार देखि वर्षा हुने



पश्चिमी वायुको कारण बिहीबार देखि भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले बिहीबार बाट देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागको एक दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको जनाएको छ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्ले औंल्याएका छन्।

मौसम विद् समीर श्रेष्ठले भने, ‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ। उपत्यकामा पनि भोलि बिहान पानी पर्ने छ र दिउँसो पनि बादल लागिरहनेछ । यो क्रम शुक्रबारसम्म चल्नेछ।’,

‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ मौसमविद् समीर श्रेष्ठले भने।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

जनवरी महिनामा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो । तर यस वर्ष औसतभन्दा बढी पानी परिसकेको छ । साथै गत वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष तीन गुणा बढी पानी परेको मौसम विज्ञान विभागको रेकर्ड छ ।

मौसमविद् श्रेष्ठले भने ‘सन् २०१८ को जनवरी महिनामा ६ दशमलव १ मिलिमिटर पानी परेको थियो तर, सन् २०१९ को जनवरी महिनामा १९ दशमलव ७ मिलिमिटर पानी परेको रेकर्ड छ ।’

सन् २०१९ को फेब्रुअरी महिनामा भने पानी परेको छैन । तर फेब्रुअरी महिनाको औसत वर्षा १८ दशमलव ७ मिलिमिटर हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics