१२ प्रतिशतले घट्यो गहुँ उत्पादन



काठमाडौं । उत्पादनका हिसाबले तेस्रो प्रमुख बाली गहुँको उत्पादन १२ प्रतिशतले घट्ने प्रारम्भिक अनुमान कृषि विकास मन्त्रालयले गरेको छ । चालू आर्थिक वर्ष २०७२÷७३ मा हिउँदे वर्षा समयमा नहुँदा र उत्पादन क्षेत्रफल पनि घटेका कारण गहुँको उत्पादन न्यून हुने अनुमान गरिएको हो । गत आवमा १९ लाख ७५ हजार मेट्रिक टन (मेट) गहुँ उत्पादन भएकोमा चालू आवमा १७ लाख ३७ हजार मेट उत्पादन हुने अनुमान कृषि विकास मन्त्रालयले गरेको छ । ६ महीना लामो सीमा नाका बन्दको कारण बीउ तथा मल समयमा आपूर्ति हुन नसक्नु प्रमुख कारक रहेको मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले बताए ।

गत आवमा ७ लाख ६२ हजार हेक्टर जग्गामा गहुँ बाली लगाइएकोमा चालू आवमा त्यस्तो क्षेत्रफल २ दशमलव २ प्रतिशतले घटेको मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मकै र  फापरबाहेक अन्य प्रमुख बाली धान, गहुँ, कोदो तथा जौको उत्पादन घटेसँगै खाद्यान्न बालीको उत्पादनमै असर पर्ने देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमै ठूलो असर पार्ने धान बालीको उत्पादन चालू आवमा १० दशमलव २ प्रतिशतले घटेको छ । गत आवमा ४७ लाख ८८ हजार मेट धान उत्पादन भएकोमा चालू आवमा उत्पादन ४२ लाख ९९ हजार मेटमा सीमित रहेको छ ।

गत आवमा ३३ लाख ७७ हजार हेक्टरमा खाद्यान्न बाली लगाई ९२ लाख ६६ हजार मेट उत्पादन भएकोमा चालू आवमा उत्पादन क्षेत्र ३३ लाख ६ हजारमा खुम्चेको र उत्पादन पनि ८६ लाख १४ हजार मेटमा सीमित रहेको छ । चालू आवमा दलहन र मसला बालीको उत्पादन पनि घटेको छ ।  समग्रमा तेलहन, सुर्ती, जुट, ऊखु, आलुलगायतका नगदेबालीको उत्पादन चालू आवमा केही बढेको छ । चालू आवमा ५ लाख ४ हजार हेक्टरमा यी बाली लगाइएको र उत्पादन ६१ लाख ४० हजार मेट पुग्ने अनुमान कृषि विकास मन्त्रालयले गरेको  छ ।

प्रमुख खाद्यान्न बालीको उत्पादन घटे पनि पुष्पखेती, माछापालन, रेशमको कोया, च्याउ, मह, चिया, कफी, फलपूmललगायत उत्पादन बढेको छ । नेपालमा सिँचाइ प्रणालीको राम्रो व्यवस्था हुन नसक्दा मौसमी प्रतिकूलताको कारण उत्पादनमा असर परेको हो । प्रतिकूल मौसमका कारण कतिपय बाली समयमा लगाउन नसकेपछि खेतीयोग्य जमीन बाँझो रहँदा उत्पादन घट्न गएको मन्त्रालयले बताएको छ ।

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics