जलवायु परिवर्तन नीतिमा स्थानीय अभ्यासलाई प्राथमिकता दिन आवश्यक



सरकारले जलवायु परिवर्तन सम्बन्धी नीति बनाउँंदा समुदाय स्तरमा भइरहेका अभ्यास, सिकाई र भोगिएका चुनौतीलाई आधार मानेर सो नीति बनाउनुपर्ने आवश्यकता औल्याएका छन् ।

क्लाइमेट एन्ड डेपलपमेन्ट डायलग नामक मन्चले शुत्रबार काठमाडौंमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरुले उक्त धारणा राखेका हुन।

जलवायु परिवर्तनसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनका लागि नीति निर्माणकै चरणमा स्थानीय अभ्यासकर्मीका अनुभव र सुझाव समेटदै, स्थानिय ज्ञानलाई उचित महत्व दिएर सो नीति बनाउनु पर्ने सहभागिहरुको भनाई थियो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले भने, राष्ट्रिय जलवायु नीति २०७६ आइसकेको अवस्थामा यस कार्यक्रमबाट आउने निष्कर्षले नीतिको प्रभावकारी कार्यान्वयनमा मदत हुने बताए ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले अहिले ह्युमन डायनोसोरले जलवायु परिवर्तनका समस्या सिर्जना गरेको उल्लेख गरे । उनले सही अभ्यासले निर्देशित गरेको सही नीति तयार भयो भने जलवायु परिवर्तनको क्षेत्रमा चमत्कार हुन सक्ने बताए ।

विभिन्न जिल्लामा रहेर जलवायु अनुकुलन र न्यूनिकरणमा जुटिरहेका अभ्यासकर्ताहरुले आफ्ना अनुभव सुनाएका उक्त कार्यक्रममा दोलखास्थित भीमेश्वर नगरपालिकाकी उपमेयरलगायत अन्य जनप्रतिनिधिले जलवायु परिवर्तनका असर न्युन गर्न आफ्नो पालिका र आफूले निर्वाह गरिरहेको भूमिकाको चर्चा गरेका थिए । साथै त्यस क्रममा भोग्नुपरेका चुनौती पनि उल्लेख गरेका थिए ।

कार्यक्रममा जलवायु परिवर्तनसँग जोडिएका संकटासन्नता, वित्त, जोखिम, उत्थानशीलता, बजेटको उपलब्धता र प्रयोग, लैंगिकता, स्थानीय सरकारले लिएका अग्रसरता जस्ता विषयसँग सम्बन्धित विषयगत क्षेत्रबारे कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । त्यस क्रममा विज्ञ र सहभागीहरुले जिज्ञासा राख्ने तथा सुझाव दिने कार्य पनि भएका थिए ।

क्लाइमेट एन्ड डेपलपमेन्ट डायलग प्रकृति रिसोर्स सेन्टर, एक्सन एड, केयर, डिसिए, हेल्भेटास, किर्डाक, टेवा, दिदीबहिनी, प्राक्टिकल एक्सन, दि माउन्टेन इन्स्टिच्युट र साहस जस्ता १२ वटा संस्थाको साझा मञ्च भएको बताउँदै डायलगका सचिवालय सदस्य प्रविनमान सिंहले जलवायु परिवर्तनका असर न्युनीकरणका लागि स्थानीय तहदेखि संघीय तहसम्मका, सामान्य लाभग्राही र पीडितदेखि विज्ञ र नीति निर्मातासम्म भेला गराएर छलफल गराउने गर्छ ताकि समस्या न्युनीकरणका लागि सहयोग हुने उल्लेख गरे ।

कार्यक्रममा दिदीबहिनी संस्थाकी सलोनी सिंह, हेल्भेटासका कन्ट्री डाइरेक्टर डा. भरतकुमार पोखरेल, किर्डाकका कार्यकारी निर्देशक गोविन्द शाही, डिसिएका राजेन्द्र खनाललगायत विज्ञहरुले बोलेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics