चुरेमा काठ तस्करी : अनुगमन गर्न सव डिभिजन वन कार्यालयलाई निर्देशन
- होम योगी
 
                                                        
चुरे क्षेत्रमा काठ तस्करी तथा निकासी बढेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले सव डिभिजन वन कार्यालयलाई अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएको छ ।सव डिभिजन वन कार्यालय कञ्चनपुरले मंगलबार जिल्लाका सबै डिभिजन वन कार्यालयलाई अनुगन गर्न निर्देशन दिएको हो । पछिल्लो समय चुरेमा काठ तस्करी तथा निकासी बढेपछि डिभिजन वन कार्यालयले सव डिभिजन वन कार्यालयलाई अनुगन तथा निरीक्षणमा जोड दिन निर्देशन दिएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए । उनका अनुसार चुरे क्षेत्र हेर्ने ब्रह्मदेव, शुक्लाफाँटा र बाणि सव डिभिजन वन कार्यालयलाई अनुगमनलाई निरन्तरता दिन निर्दशन गरिएको हो ।
‘शुक्लाफाँटा, भीमदत्त, बेदकोट र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका सामुदायिक वन र चुरे क्षेत्रमा काठ तस्करी भइरहेको गुनासो आएपछि निर्देशन गरेका हौं,’ उनले भने,‘अनुगमन गरेर काठ तस्करहरुको पहिचान र काटिएका रुखहरुको विवरण पेश गर्न सव डिभिजनलाई दिएका हौं ।’ यसैगरी भीमदत्त नगरपालिका–९ ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वनमा सालका रुख काटनी विषयमा डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयको ध्यानाकर्षण भएको छ । सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख जिवनबहादुर भण्डारीले सिद्धनाथ सामुदायिक वनलाई पत्र काटेको छ ।
सिद्धनाथ सामुदायिक वनमा प्रजातिका रुख काटिएको जनाउँदै सव डिभिजन वन कार्यालय ब्रह्मदेवले सामुदायिक वनलाई कस्को संलग्नतामा काटिएको हो ? र त्यो काटिएको काठ कहाँ गयो ? अनुसन्धान गरि ७ दिनभित्र कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । अन्यथा वन ऐन बमोजिक कार्बाहीको चेतावनी दिईएको छ । सव डिभिजन वन कार्यालय ब्रम्हदेबले सामुदायिक वनमाथी काठ तस्करको पहिचान गरेर कुन ठाँउमा गएको विषयमा प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको छ ।
५ लाख बढी बिरुवा उत्पादन गर्ने तयारी
कञ्चनपुरमा यस वर्ष सव डिभिवन वन कार्यालय कञ्चनपुरले ५ लाख बढी बिरुवा उत्पादन गर्ने तयारी गरेको छ । वन कार्यालयले यस वर्ष ५ लाख ६६ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको हो । संघीय सरकार र प्रदेश सरकारको सहयोगमा वन कार्यालयले बिरुवा उत्पादन गर्ने तयारी गरेको डिभिजन वन कार्यालय कञ्तनपुरका सूचना अधिकारी शिवराज अवस्थी बताउँछन् । उनका अनुसार संघीय सरकारको आर्थिक सहयोगमा ३ लाख ४६ हजार बिरुवा उत्पादन गरिनेछ भने सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा १ लाख ७० हजार बिरुवा उत्पादन गरिने छ ।
यस्तै जिल्ला वन पैदावार समितिको सहयोगमा ५० हजार बिरुवा उत्पादन गरिने छ । जसमध्ये संघीय सरकारको सहयोगमा १५ हजार फलफुलका बिरुवा र प्रदेश सरकारको सहयोगमा २० हजार फलफुलका बिरुवा उत्पादन गरिने छ । वन माथिको चाप कम गर्नका लागि बिरुवा उत्पादन गर्न लागिएको सूचना अधिकारी अवस्थीले बताए । उनका अनुसार उत्पादन गरिएका वन निज क्षेत्र तथा वन क्षेत्रमा बृक्षारोपण गरिने छ ।
‘फागुन महिनामा विउ राख्छौं,’ उनले भने,‘असार/साउन महिनामा बिरुवा उत्पादन हुन्छ,अनि माग अनुसार वितरण गर्छौ ।’ वन प्रजातिका बिरुवा उत्पादन गर्न प्रति बिरुवा ९ रुपैयाँ लाग्नेछ भने फलफुलका बिरुवा उत्पादनका लागि ९५ रुपैयाँ खर्च हुनेछ । यसैगरि कञ्चनपुरका स्थानीय तहले समेत बिरुवा उत्पादन गर्ने तयारी गरेको छ । गत वर्ष डिभिजन वन कार्यालय कञ्चनपुरमा ७ लाख ५० हजार बिरुवा उत्पादन गरेर वितरण गरेको थियो । कञ्चनपुरमा प्रत्येक वर्ष बिरुवा उत्पादन गरि बृक्षारोपण गरिन्छ । तर, संरक्षण नहुँदा अधिकांस बिरुवा मर्छन ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस