सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो



सर्लाही - सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ । सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए । हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा रु दुई अर्ब लाग्नेछ । ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ ।मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए ।

एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ । नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा  सामाजिक काममा खर्च गरिएको –४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए । नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो ।

“तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो । सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो”, वडाध्यक्ष लामा भने ।

“सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो । भारतको बिहारबाट निकै पर्यटक आउन थाले”, नगरपालिकाका प्रमुख भरतकुमार थापाले भने ।

एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ ।

सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन् । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायाङ्कन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उनको भनाइ छ ।

तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए। पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ । नजिकै जङ्गल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ ।

“पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन् । पशुपति पुग्न नसक्ने यहीँ आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौँ”, नगर प्रमुख थापाले बताए ।

तालले संस्कृति जगेर्ना, पर्यटन प्रवद्र्धन र सिँचाइमा सघाउ पुग्नेछ । “पानीमा हुने डल्फिलनसहितका जीव यहाँ राख्ने सोचमा छौँ”, नगर प्रमुख थापाले बताए । पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिने उनको भनाइ छ ।

भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक ( सम्पन्न, विपन्न र सुकुम्बासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।

यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२÷०६३ ताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो । जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो ।

रासस






नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics