१३ लोपोन्मुख जडीबुटीको खेती गरिने



वनस्पति विभागले हिमाली क्षेत्रका १३ लोपोन्मुख जडीबुटीको खेती विस्तार गर्ने भएको छ । सोमबारको अन्नपुर्ण पोष्टमा छेटु शेर्पा लेख्छन् विभागले आर्थिक वर्ष ०७२/७३ देखि जडीबुटी खेतीको प्राविधिक अनुसन्धान गरी यसको विस्तार गर्ने भएको हो ।

लोप हुने स्थितिमा रहेका पाँचऔंले, जटामसी, कुट्की, पिपला, सर्पगन्धा, चिराइतो, लौंठ सल्ला, गुर्जो, गुच्ची च्याउ, यार्सागुम्बा, सतुवा, काकोली र कालो मुसलीको खेती विस्तार हुने जडीबुटीको सूचीमा परेका छन् । हिमाली क्षेत्रमा पाइने अधिकांश जडीबुटी वातावरण परिवर्तन, अवैध संकलन र चोरी निकासीले लोप हुन थालेपछि खेती प्रणालीबाटै संरक्षण थालिएको विभागकी सूचना अधिकारी सुधिता वासुकलाले बताइन् । विभागले ५७ औं वार्षिकोत्सव मनाउने तयारीसँगै वनस्पति अध्ययन र अनुसन्धानपछि पहिलो प्राथमिकतामा राखेका यी जडीबुटीको खेती गर्न किसानलाई सहुलियत दिन लागेको उनले बताइन् ।

महत्ववपूर्ण र बहुमूल्य जडीबुटी संकलन गर्दा बोट नै उखेल्ने, कुटो कोदालोजस्ता औजार प्रयोग गर्ने, मौसम परिवर्तनसँगै लोप हुने र हिमपात घटेकाले लोप हुन थालेको वनस्पतिविद् लक्ष्मण झाले बताए । नेपालका रैथाने जडीबुटी वनस्पति कानुनी रूपमै खुला गरी उत्पादन बढाउन प्रोत्साहित गर्न थालिएको छ । फूल फुल्ने रैथाने जडीबुटी मौसमअनुसार पर्याप्त उत्पादन हुन छाडेपछि विभागले नयाँ विकल्प निकालेको हो । जडीबुटी व्यवसायी संघसँग सहकार्य गरी खेतीसम्बन्धी समस्या समाधान गरी उत्पादन बढाउन विभागले कदम चालेको उनले जानकारी दिए।

वनस्पति विभागले पहिलो प्राथमिकता सतुवा, लौंठसल्लासहित १३ प्रकारका जडीबुटीको फूलदेखि जरासम्म अध्ययन गरेर संरक्षण थालेको जनाएको छ । उत्पादन मात्रै नभएर जडीबुटी र गैरकाष्ठ वन पैदावार जिल्लाबाट निकासीमा समेत समस्या भएकाले कानुनी बाधा अड्चन फुकाएर सहज बनाएको छ।

विभागका अनुसार नेपालका रैथाने जडीबुटी र वनस्पतिसम्बन्धी २०१६ को सर्वेक्षणमा फूल फुल्ने जडीबुटीको संख्या बढेर ३ सय २४ पुगेको छ भने फूल नफुल्ने वनस्पतिको तथ्यांक आउने क्रममा छ । हालसम्म विश्वमा फूल फुल्ने वनस्पति ६ हजार ६ सय ५३, फूल नफुल्ने ४ हजार ४ सय ६२ छन् । विभागले १ लाख ५० प्रजातिका वनस्पति राष्ट्रिय हर्बेरियम गोदावरीमा सुरक्षित राखी अध्ययन गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics