दुवै खुट्टा गुमाएका हरि बुढामगरको विश्व कीर्तिमान

तस्बिरः हरि बुढामगरको फेसबुकबाट।

काठमाडौँ- पूर्व बेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो (डबल एम्प्युटी एभोब नी अर्थात घुँडा माथिबाट दुवै अंगविच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो। सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौँ’ । हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रुपमा छन् । थापाले बेलायतको स्पेशल यअर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रुपमा २४ वर्ष सेवा गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics