नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियाको थालनी



ऐतिहासिक एवं पर्यटकीय काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो ।

यहही निर्णयानुसार नगरले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक एवं वातावरणीय महत्त्व बोकेको विश्वप्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको जनाइएको छ। नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ कार्यक्रममा नगरको ११ नं वडास्थित नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए। उनले भने ‘नगरसभाको निर्णयानुसार नै विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया थालेका हौँ।’

पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा समेत लिइने गरिन्छ। नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको छ। नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो। सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को) का नेपाल प्रतिनिधिलाई औपचारिकरूपमा अवलोकन भ्रमण गराउने योजनासमेत बनाएको छ।

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा शहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ। जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्त्वावधानमा हुनेछ।

पुरातत्त्व विभागका अनुसार नेपालको १० क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics