माछापुच्छ्रे बैंक र प्याब्सनबीच डिजिटल साक्षरतासम्बन्धी सम्झौता



काठमाडौं  - माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)’बीच वित्तीय तथा डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ । बैंकले आम नागरिकमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

सोमवार काठमाडौंमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका अध्यक्ष डिके ढुंगानाले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले विद्यालयस्तरमा आयोजना हुने सचेतना कार्यक्रमले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारी समावेश गर्नसके प्रभावकारी हुने बताए । प्याब्सनका अध्यक्ष ढुंगानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ शिक्षा लगायतका विषयलाई समावेश गरेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics