झरी अझै कहिले सम्म पर्ला ?
- नेचर खबर
काठमाडौं – साउन महिना लागेयता दैनिक पानी परिरहेको छ । भनाइ नै छ, ‘साउने झरी’ । तर, यसको पनि त अवधि होला ? मौसमविद् भन्छन्, ‘बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग अहिले देशैभरि पानी परिरहेको छ । यो केही दिन सम्म रहन्छ ।’
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको भए पनि बंगालको खाडीमा न्यून चापीय प्रणालीको विकास भएको छ । मंगलबार बिहानैदेखि दाङ र चितवन आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि दिउँसो सम्म झरी प¥यो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अनि कर्णाली, सुदूर पश्चिम तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा बताउँछन् । मनसुनको मौसम भएकाले बदली र वर्षाको क्रम यथावत् चलिरहने उनको तर्क छ ।
बाढी पुर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दियालगायत काठमाडौं उपत्यकामा पनि स–साना नदीहरूमा बहाव बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख छ ।
तिनाउ नदीको जलसतह खतराको तह आसपास रहेकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन उसले सचेत गराएको छ ।
बुधवार र बिहबवार सम्मको मौसम पूर्वानुमान अनुसार देशैभरि सामान्य बदली रहने तथा कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षा समेत हुने जनाइएको छ ।
नेपालमा जुन १३ बाट सुरु भएर ११२ दिनसम्म रहने मनसुन यसपालि एक दिन ढिलो गरी प्रवेश गरेको थियो । अहिले करिब ४२ दिन बित्दा लगभग ३८ प्रतिशत पानी परिसकेको बताइएको छ ।
वर्षभरिको कूल पानी पर्ने परिमाण हेर्ने हो भने चाहिँ कूल औसत १८३२ मिलिलिटर रहने गरेको पाइन्छ जसमध्ये यसपालि ४३ प्रतिशत वा ७८७ मिलिलिटर पानी परिसकेको छ । औसतभन्दा १० प्रतिशत तलमाथि भएसम्म स्वाभाविक मनसुन मान्ने गरिन्छ ।
यसपालिको मनसुनमा अहिलेसम्म हेर्दा कतिपय ठाउँमा भारी वर्षा भइरहेको भए तापनि विशेषगरी मधेश प्रदेशका कतिपय ठाउँमा भने पर्याप्त पानी परेको छैन । यो वर्ष वैशाख १ गतेदेखि सोमवार (साउन ८ गते) सम्मको आँकडा हेर्दा विभिन्न विपद्का कारण ज्यान गुमाउनेहरूको संख्या ११६ पुगेको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार तीमध्ये पहिरोका कारण २४, हिम पहिरोका कारण १२, चट्याङका कारण २९, भारी वर्षाका कारण १, र बाढीका कारण १० जनाको ज्यान गएको छ ।
विपद्का घटनाहरूमा परी २५ जना बेपत्ता भएको अनि ४३९ जना घाइते भएको उसको विवरणले देखाउँछ । घर, सडक, पुलजस्ता संरचनाहरू भत्कँदा आर्थिक क्षति ८४ करोडभन्दा धेरैको भइसकेको उल्लेख छ । सडकहरूको हकमा मुख्य गरी चार सडकमा धेरै क्षति पुगेको सडक विभागले बताएको छ ।
प्रतिक्रिया दिनुहोस