बारम्बार पानी बाहिर निस्किएपछि किन मारिए ५१ ह्वेल ?
- नेचर खबर
काठमाडौं – अस्ट्रेलियाको समुद्रमा केही दिन अघि नौलो दृश्य देखियो । ५१ वटा ह्वेल माछा बारम्बार पानी बाहिर निस्किए । उनीहरूलाई २ सय ५० बढी स्वयंसेवक, पशु चिकित्सक र सामुद्रिक जीवन विशेषज्ञहरू सम्मिलित एउटा टोलीले उद्धार गरेर पानीमै लगे । तर, यो क्रम निरन्तर रह्यो ।
सामूहिक रूपमा पानी बाहिर निस्किएपछि ती ह्वेलहरू छटपटाइरहेका थिए । र, उनीहरूलाई पीडा नहोस् भनेर मारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा सबै ह्वेललाई बचाइएता पनि फेरि ह्वेलहरू पानी बाहिर नै आएपछि धेरै पीडा नहोस् भनेर ५१ पाइलट ह्वेलहरू मारिएको सीएनएनले जनाएको छ ।
ती ह्वेलहरू ‘युथनाइज’ गर्नुबाहेक उत्तम विकल्प अरु केही नभएको विज्ञ बताउँछन् । ह्वेललाई पीडा नदिई मार्ने कार्यलाई युथनाइज भनिन्छ । ह्वेलहरू समुद्र बाहिर जाने कार्यलाई स्ट्रान्डिङ भन्ने गरिन्छ । किन ह्वेलहरू यसरी समुद्रबाहिर जान्छन् यसको कारण राम्रोसँग खुल्न सकेको छैन ।
वन्यजन्तु अनुसन्धानकर्ता भेनेसा पिरोटाका अनुसार ह्वेलहरू शिकारीबाट बच्न पानीबाहिर निस्किएको हुन सक्छन् । पाइलट ह्वेलहरू बलियो सामाजिक बन्धनको लागि प्रख्यात छन् । जब एउटा ह्वेल समुद्रबाट बाहिर निस्कन्छ त्यसपछि बाँकी ह्वेलले पनि सोही कार्य पछ्याउँछन् ।
वाइल्डलाइफ फ्लोरिडा अर्गनाइजेसनका अनुसार हरेक वर्ष विश्वभर २ हजार ह्वेल समुद्रबाहिर गएर मर्ने गरेका छन् । खराब मौसम, बढ्दो उमेर, किनार छेउमा सिकार गर्दा साथै बसाइ–सराइका क्रममा बाटो भुल्दा पाइलट ह्वेलहरू किनारमा निस्कने र मर्ने गरेको विज्ञहरू बताउँछन् ।
गत सेप्टेम्बरमा पनि अष्ट्रेलियाको तस्मानियाको तटमा करिब २ सय पाइलट ह्वेल समुद्र बाहिर गएका थिए । त्यसबेला ३५ ह्वेल बाँचेका थिए । तस्मानियाको सबैभन्दा ठूलो स्ट्र्यान्डिङ २०२० मा थियो, जब ४ सय ५० भन्दा बढी पाइलट ह्वेल पानी बाहिर फेला परेका थिए ।
यस महिनाको सुरुमा पनि स्कटल्यान्डमा ५० भन्दा बढी पाइलट ह्वेल मृत अवस्थामा भेटिएका थिए । सीएनएनको सहयोगमा
प्रतिक्रिया दिनुहोस