काठमाडौंमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

काठमाडाैं – काठमाडाैं महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका बस्तु तथा सामग्री महानगरभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्र, 'यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली अनुगमनमा खटाउने महानगरको तयारी छ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत हुनेछ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान कुनै पनि प्रयोग गर्न पाइनेछैन ।'



अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न/नगराउन मेयर शाहको आग्रह छ । उनले बजार जाँदा कागज वा कपडाको झोला बोकेर जान आग्रह गरेका छन्र । प्लाष्टिक उत्पादन गर्न रसायनको पनि प्रयोग गरिन्छ । यसबाट डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरु उत्सर्जन हुन्छन् । जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छाला सम्बन्धी रोगहरु लाग्ने जोखिम हुन्छ ।

जथाभावी फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ । माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ । बाग्मती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा लगायतका नदी, राजकुलाहरु र खुल्ला ठाउँमा प्लाष्टिक फालेका कारण नदी प्रदुषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि असर पुगेको छ । काठमाण्डौ उपत्यकामा दैनिक झण्डै ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने अनुमान छ । साथै नदीलाई प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics