जलवायु परिवर्तनले बढाउँदैछ मानव बेचबिखन र आधुनिक दासत्व


काठमाडौं : वातावरणीय परिवर्तनका प्रभावहरू बढ्दै जाँदा, मानव बेचबिखन र पारिस्थितिक चुनौतीहरूबीच एउटा डरलाग्दो सम्बन्ध देखा परिरहेको छ । वातावरणीय ह्रास र जलवायु परिवर्तनबाट हुने घटनाहरूले आर्थिक कठिनाइ बढाइरहेको छ । जसले मानिसहरू, विशेष गरी महिला र बालबालिकामाथी हुने शोषण बढिरहेको छ । मानव बेचबिखन विरुद्धको विश्व दिवस मनाइरहेका बेला नेपालमा पनि जलवायु परिवर्तन र मानव बेचबिखनबीचको सम्बन्धबारे चर्चा छ छलफल गर्न आवश्यक छ ।


जलवायु परिवर्तनका कारण हिमनदी पग्लने र वर्षाको ढाँचा परिवर्तनले नेपालको भौगोलिक अवस्था र जीविकोपार्जनमा समस्या सृजना गरेको छ । अप्रत्याशित मौसम, कृषि उत्पादनमा ह्रास र प्राकृतिक स्रोतको हानिका कारण साना किसान र ग्रामीण समुदायले आफ्नो परम्परागत जीवन शैलीलाई जोगाउन संघर्ष गरिरहेका छन् । परम्परागत जीविकोपार्जन उनीहरुका लागि अब समस्या हुदै गएको छ । त्यसैल आर्थिक रुपमा कमजोर समुदायहरू आफूलाई बाँच्नको लागि वैकल्पिक माध्यमहरू खोज्न बाध्य हुन्छन् । यही क्रममा उनीहरूलाई मानव तस्करहरूले स्वार्थ पूर्तीका लागि प्रयोग गर्छन् ।


गाउँघरमा बसेर परम्परागत शैलीमा खेतीपाती तथा जीवीकोपार्जनमा समस्या देखिएपछि राम्रो अवसर र जीवनयापनको खोजीमा, धेरै व्यक्तिहरू, विशेष गरी युवा महिला र बालबालिकाहरू, शहरी क्षेत्र वा छिमेकी देशहरूमा बसाइँ सर्ने क्रममा मानव तस्करहरूको पासोमा परिरहेका छन् ।




तस्वीरः डब्लू डब्लू एफ

वातावरणीय तथा सामाजिक अनुसन्धानकर्ता अमन्दा नेरो भन्छन् “जलवायु परिवर्तनसँग सम्बन्धित घटनाहरू जस्तै पहिरो र बाढीले परिवारलाई विस्थापित गरी उनीहरूलाई जोखिममा पार्छ । तस्करहरूलाई भाग्न खोज्नेहरूको शोषण गर्न सजिलो हुन्छ । उनीसहितको समूहले केही वर्षअघि नेपालमा जलवायु–प्रेरित समस्यामाथी अध्ययन गरेका थिए । यद्यपी नेपालमा भने जलवायु परिवर्तन र तस्करीको वास्तविक अवस्था र तथ्याङ्क अहिलेसम्म उपलब्ध छैन ।


बेचबिखनबाट बचेकाहरूले राम्रो जीवन र जागिरको झूटा वाचा दिएर ठगिएका कथाहरू सुनाउँछन् । तर त्यसको सम्वन्ध जलवायु परिवर्तनसँग सम्बन्धित हुनसक्छ । जलवायु परिवर्तन र मानव बेचबिखनबीचको जटिल सम्बन्धलाई स्वीकार गर्दै नेपाल सरकारले राष्ट्यि तथा अन्तर्राष्ट्रिय क्ष्ँेत्रमा आवाज उठाउन आवश्यक छ ।



जलवायु परिवर्तनका कारण यस्तै आधुनिक दासत्व र मानव बेचबिखनको समस्या भोगिरहेको सुन्दरवनलाई विश्वभरी एउटा उदाहरणका रुपमा प्रस्तुत गरिन्छ ।, भारत र बंगलादेशमा फैलिएको, प्राकृतिक प्रकोप र आधुनिक दासत्वको जोखिममा रहेको क्षेत्र हो । बढ्दो समुद्री सतह र बाढीजस्ता जलवायु परिवर्तनका प्रभावहरूले जीविकोपार्जनलाई कठिन बनाउदै लगेको छ । त्यहाँका मानिसहरू देशभित्र र बाहिर बसाइँ सर्न बाध्य भइरहेका छन् । बसाइ सराईका क्रममा महिलाहरू शोषण र बेचबिखनको जोखिममा छन् । यस्तै अवसरको खोजी गर्ते तस्करहरुले आफ्नो जालो विस्तार गरेका छन्, जसले महिला र बालबालिका बढी जोखिममा छन् । त्यहाँ माछा प्रशोधनमा काम गर्नेहरु आधुनिक दासत्वको शिकार भएका छन् ।
जलवायु–उत्थानशील जीविकोपार्जन, शिक्षा, र बेचबिखनका जोखिमहरू बारे सचेतना अभियानहरू मार्फत कमजोर समुदायहरूलाई सशक्तिकरणमा ध्यान केन्द्रित गर्न सरकार चुकेको छ । विश्वका धेरै देशहरुमा जलवायु–प्रभावित समुदायहरूलाई दिगो आम्दानीका अवसरहरू उपलब्ध गराउने उद्देश्यले “जलवायु–स्मार्ट रोजगार“ कार्यक्रम सुरु गरेका उदाहरणहरु छन् । जीविकोपार्जनमा विविधीकरण गरेर, यस्ता पहलहरूले सम्भावित बेचबिखन पीडितहरूको जोखिमलाई कम गर्न सकिन्छ ।

नेपालले जलवायु परिवर्तनबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूको सामना गरिरहेको छ, जसले वातावरणलाई मात्र नभई यहाँका जनताको जीवन र समुदायलाई पनि असर गर्छ । जलवायु परिवर्तन र मानव बेचबिखन बीचको जटिल सम्बन्धलाई सम्बोधन गर्न, वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका संस्थाहरुले सामाजिक–आर्थिक सशक्तिकरण, र नीतिमा हस्तक्षेपको आवश्यकता बुझ्न जरुरी छ ।


मानव बेचबिखन विश्वभर सबैभन्दा छिटो बढ्दो आपराधिक उद्योग बनेको छ, र नेपाल पनि यस बढ्दो चिन्ताबाट मुक्त छैन । मानव बेचबिखनको मुद्दा र बेचबिखन विरुद्धका कार्यक्रमहरू भएपनि त्यसको प्रभावकारीता र सफलताको बारेमा कुनै विश्वासिलो नतिजा प्राप्त भएको छैन ।


भारतीय वेश्यालयमा नेपाली महिला र बालिकाको तस्करी सन् १९६० देखि हुने थालेको विभिन्न अध्ययनहरुले देखाएका छन् । र वर्षौंदेखि तस्करीको मात्रा बढेको छ । बेचबिखनका हालैका प्रवृत्तिहरूले मध्यमवर्गीय महिलाहरूलाई आकर्षक जागिर र तलबको आश्वासन दिएर खाडी देशहरूमा बेचबिखन गर्ने संख्या बढ्दो छ । मानव ओसारपसारको अवैध प्रकृति, समुदायभित्रको निहित स्वार्थ र सरोकारवालाहरूबीचको सही सूचना र सञ्जालको अभावले रोकथामका उपायहरूमा ठूलो चुनौती खडा गरेको छ ।


नेपालमा वार्षिक १२,००० देखि २००,००० भन्दा बढी नेपाली महिला भारतीय यौन व्यापारमा संलग्न भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । नेपाली समाजका पिछडिएका समूह र लामो समयदेखि राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वका कारण यो समस्या झन जटिल बन्दै गएको देखिन्छ ।


राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार वर्षेनी १२ हजारदेखि १५ हजार नेपाली बालबालिका भारतमा बेचबिखन हुने गरेको छ । लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रको कार्यालयले विश्वव्यापी रूपमा बेचबिखनबाट पीडित हुनेहरूमध्ये ७५–८०% महिला र बालबालिकाहरू प्राय: यौन शोषणको सिकार हुने अनुमान गरेको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनको अध्ययन अनुसार, जलवायु परिवर्तनले नेपालमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको संख्यामा वृद्धि भइरहेको छ र यो क्रम निरन्त हुनसक्ने अनुमान गर्दै चिन्ता व्यक्त गरेको छ ।


जलवायु परिवर्तन र आधुनिक दासत्व एकसाथ जोडिएको छ । जलवायु–प्रेरित प्रकोप, वातावरणीय ह्रास र स्रोतहरूको बढ्दो अभावले धेरै समुदायहरूलाई असर गरिरहेको छ । लाखौं मानिसहरूलाई गरिबीमा धकेलिरहेको छ र धेरैलाई काम, खाना वा सुरक्षाको खोजीमा बसाइँ सर्न बाध्य पारिरहेको छ । धेरै अवस्थामा, जलवायु समस्याबाट पीडितहरूलाई मानव बेचबिखन, जबरजस्ती श्रम र बाल दासत्व लगायतका आधुनिक दासत्वका रूपहरूमा बढी प्रयोग गरिरहेको पाइन्छ ।


जलवायु परिवर्तन र आधुनिक दासत्व तीन तरिकाबाट जोडिएको पाइन्छ । जब मानिसहरू बसाइँसराइ गर्न बाध्य हुन्छन्, उनीहरूले मानव बेचबिखन र जबरजस्ती श्रमको ठूलो जोखिमको सामना गर्छन् । आफ्नो जीविकोपार्जन, आम्दानी र आफ्नो समुदायसँगको सम्बन्ध गुमाउने मानिसहरूलाई प्राय: शोषणको शिकार हुन्छन् ।


विश्व बैंकले सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण अफ्रिका, दक्षिण एसिया र ल्याटिन अमेरिकामा १४ करोड ३० लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित हुने अनुमान गरेको छ । जलवायु परिवर्तनलाई प्रेरित गर्ने उद्योगहरूले मानिसहरूलाई जबरजस्ती बसाइँसराइको जोखिममा पार्छन् । ठूला उद्योगधन्दा र कारखानाका कारण धेरै मानिसहरूलाई गरिबीमा धकेलिने अनुमान छ । र उनीहरूलाई आफ्नो घर र समुदाय छोड्न बाध्य हुनेछन् । त्यस्तो अवस्थामा उनीहरूलाई मानव तस्करहरूले निसाना बनाउनेछन् । धेरै पीडितहरूलाई यही निहुँमा शोषण हुनेछ ।


जलवायु आपतकालिनका कारण बसाइँसराइमा बाध्य भएका धेरै मानिसहरूले आफूलाई जबरजस्ती श्रममा बेचबिखन गरेको ढिलो गरिमात्रै थाहा पाउँछन् । न्यून आय भएका देशहरूले विनाशकारी बाढी, खडेरी, गर्मीको लहर, चक्रवात र बढ्दो समुद्री सतहबाट हुने नोक्सान र क्षतिबाट प झन ठूला समस्या व्यहोनेछन् । जसले गर्दा विश्वभरका लाखौं मानिसहरूलाई शोषण गर्न सकिने अवस्था सृजना हुन सक्नेतर्फ विज्ञहरुले सचेत गराइरहेका छन् ।
त्यसैले जलवायु–सम्बन्धित बसाइसराइ र आधुनिक दासत्व एकअर्कासँग जोडिएका छन्, र कमजोर समुदायहरू, विशेष गरी महिलाहरू, सामाजिक सुरक्षा र सुशासनको अभावले फरक जोखिम र कमजोरीहरूको सामना गरिरहेका छन् । यो अवस्थाबाट नेपाललाई बचाउन अहिलेदेखि नै विशेष अभियान र कार्यक्रमको खाँचो देखिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics