जो पर्यावरण जोगाउन सन्तान नजन्माउने सोचमा छन्



काठमाडौं – भारतको मुम्बईमा बस्छन् तन्मय सिन्धे । उनको एउटा यस्तो योजना छ, जुन योजना सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । योजना हो, ‘पर्यावरण जोगाउन बच्चा नजन्माउने । अर्थात पर्यावरणकै कारण बच्चाको योजना नबनाउने ।’

जलवायुसम्बन्धी एक संस्थाले बढ्दो समुद्री सतहका कारण सन् २०५० सम्ममा उनको गृहनगर पानीमा डुब्न सक्ने बताएको छ । उनको यो निर्णय बुझ्न उनको परिवारलाई पनि कठिन भएको छ । तर, आफू पुरुष भएका कारण यस्ता निर्णयहरू लिन महिलालाई भन्दा बढी विशेषाधिकार आफूलाई भएको उनी ठान्छन् ।

‘भारतमा परिवारहरू निकै परम्परावादी छन् । उनीहरूमा वर्षौँ पुराना चलन मान्ने संस्कृति छ । विवाहपछि बच्चा हुने कुरा पनि यसमा महत्वपूर्ण मानिन्छ । र, यो संस्कृतिको निरन्तरताका लागि धेरै सामाजिक दबावहरू पनि आउँछन्,’ उनी भन्छन् ।

के उनले आफ्नो विचार परिवर्तन गर्लान् त ?
उनी भन्छन् ,‘कार्बन उत्सर्जन घटाउन र विश्वको तापमानवृद्धि रोक्न कडा निर्णय र आमूल परिवर्तनहरू आवश्यक छ । बच्चा जन्माउनका लागि सुरक्षित ग्रह र दिगो जीवनशैली चाहिन्छ । त्यो अहिले छैन । मलाई लाग्छ म बच्चा जन्माउनेबारे योजना बनाउँदिनँ ।’

स्वीडनको लुन्ड विश्वविद्यालयका प्राध्यापक बिम्बर्ली निकोलस संलग्न भएको एउटा अध्ययनले विकसित देशका बालबालिकामा कार्बन उत्सर्जनको ठूलो नकारात्मक प्रभाव रहेको देखाएको छ । यद्यपि उनी मानिसहरूले बच्चा पाउनै छोड्नुपर्छ भन्ने तर्कमा भने सहमत छैनन् ।

‘मानिसहरूको व्यक्तिगत इच्छा र मानव अधिकारबारे मलाई केही भन्नु छैन । मैले काम गरिरहेको चाहिँ अहिले बाँचिरहेका बालबालिकाका लागि कसरी सुरक्षित समाज बनाउने भन्ने हो,’ उनी भन्छिन् । उनी मानिसहरूले गर्भनिरोधक साधनको प्रयोगबाट हुने फोहोरभन्दा बढी यात्राका बेला फोहोर गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने बताउँछिन् । ‘हाम्रो प्रयास त्यो ठाउँमा हुनुपर्छ जहाँ हामी फरक पार्न सक्छौँ,’ उनी भन्छिन् ।

आफ्नो जीवनको एकतिहाइ समय पुनः प्रयोग नहुने फोहोर उत्पादन नगरी बिताएकी लरेन चाहिँ बच्चा पाउने विषयमा अझै अनिर्णीत छिन् । ‘मैले धर्मसन्तान राख्दा ठिक होला किन भन्ने सोचेकी छु, तर आफैँले पाउनेबारे म अझै निश्चित छैन,’ उनले भनिन् ।

जीवनका अन्य निर्णयहरू जस्तै बच्चा जन्माउने निर्णय पनि पर्यावरणमैत्री हुनेमा उनी आफैँलाई प्रश्न गरिरहेकी छन् । ‘यसले पृथ्वीलाई कुनै फाइदा हुन्छ ? म यो बच्चालाई कुनै मूल्य दिन सक्छु वा सक्दिनँ र ऊ अझ राम्रो संसार बनाउन प्रयास जारी राख्दै म भन्दा धेरै बाँच्छ वा बाँच्दैन ?’
–एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics