जिरीका दुई सामुदायिक वन फडानी, १३३ रूख काटेको पुष्टि



काठमाडौं – दोलखाको जिरीस्थित दुई सामुदायिक वनमा अनाधिकृत रूपमा वन फडानी भएको पाइएको छ । वृक्षरोपणका नाममा सामुदायिक वनका एक सय ३३ वटा रूख काटेको पाइएको हो ।

जिरी नगरपालिका– ९ स्थित ठूलोपातलका झाक्रे चोल्पे र भुसुने सुँगुरे सामुदायिक वनमा वृक्षरोपण गर्ने भन्दै रूख ढालिएको पाइएको डिभिजन वन कार्यालयको अध्ययन टोलीले पुष्टि गरेको छ ।

सबडिभिजन वन कार्यालय जिरीका प्रमुख विष्णु केसीका अनुसार झाक्रे चोल्पेमा ९१ वटा र भुसुने सुँगुरेमा ४२ वटा रूख काटिएको छ । दुईवटै सामुदायिक वनमा आरुपाते, रगचन, अँगेरी, काफल, मौवालगायत जातका एक सय ३३ वटा रूख कटान गरेको भेटिएको उनले बताए ।

रूख कटान गरिएको वन क्षेत्रमा पुगी काटिएका सबै रूख गणना गरेको प्रमुख केसीले बताए । उनले फिल्डमै पुगेर अध्ययन गरिसकेपछि आइतबार दुवै सामुदायिक वनका अध्यक्षहरूलाई कार्यालयमा बोलाएर सोधपुछ गरेकोसमेत जानकारी दिए ।

जवाफका दुवै वन अध्यक्षले वृक्षरोपण गर्ने प्रयोजनका लागि मात्रै रूख काटिएको बताएका थिए । यसैबिच अनधिकृत तरिकाले सामुदायिक वन फँडानी गरेको भन्दै दुईवटै सामुदायिक वनका केही अगुवा उपभोक्ताले अनुसन्धान गरी कारबाही गर्न डिभिजन वन कार्यालय चरिकोटमा उजुरी दिएका छन् ।

उपभोक्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन विभाग र जिरी नगरपालिकालाई बोधार्थ दिई उजुरी गरेका हुन् । डिभिजन वन कार्यालय दोलखाका प्रमुख थीरबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics