हात्ती सफारीको विकल्प किन खोज्दै छन् पर्यटन व्यवसायी ?



चितवन - पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् ।

विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ । हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ । कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ ।

सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन् । एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ ।

सौराहाको सपना भिलेजका सञ्चालक ध्रुब गिरीले छ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आएका छन् । हात्ती सफारी बन्द गरेर उहाँले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहेका छन् । उनको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ । यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन् । उनीहरुले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन् । गिरीका अनुसार यो प्याकेजवापत पर्यटकसँग रु तीन हजार पाँच सय लिइन्छ । हात्ती सफारी गर्दा रु दुई हजार पाँच सय मात्रै आउने भन्दै उनले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाए ।

गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहेका छन्र । दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ । यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ । विहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन् । उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन् । उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन् । यो प्याकेजका लागि प्रति पर्यटकले रु १५ हजार लाग्छ ।

समूहमा काम गर्न सबै इच्छुक नभएपछि बिगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ । “हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन । त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ”, उनले भने। सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन् ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो । हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उहाँले त्यसले पूर्णता भने पाउन नसकेको बताए। तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उनको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics