७०० बङ्गलादेशी पर्यटक नेपाल आउँदै

काठमाडौं - बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् ।

यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको छ । बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् ।

हालसम्मकै ठूलो संख्यामा बंगलादेशबाट पर्यटक नेपाल आउन लागेकाले यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे ।

नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत विश्वास गरिएको छ ।

कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बङ्गलादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को सात महिनामा बङ्गलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए ।

जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएका तथ्याङ्क छ ।

यसअघि सन् २०२२ मा बङ्गलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics