चीनको विरोधका बिच जापान फुकुशिमाको पानी समुद्रमा मिसाउने निर्णय गर्दै



टोकियो - जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास गर्नेबारे मङ्गलबार निर्णय गर्ने जापान सरकारका एक मन्त्रीले बताएका छन् । अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री यासुतोशी निशिमुराले सोमबार एक पत्रकार सम्मेलनमा भने, “सुरक्षा सुनिश्चित गर्न र यसबाट जापानको ख्यातिमा भएको क्षतिलाई सम्बोधन गर्न प्रयासहरूको स्थिति पुष्टि गरी पानी निकास गर्नेबारे निर्णय गर्न सम्बन्धित मन्त्रीहरूको बैठक हुनेछ ।

उनले भने, “सम्बन्धित मन्त्रीहरूले छलफल गर्नेछन् र आगामी कदमहरू के गर्ने भन्ने बारेमा जानकारी साझा गर्नेछन्, र यी छलफलहरूको आधारमा हामी निकासको समयको बारेमा निर्णय लिनेछौँ ।”जापानका प्रधानमन्त्री फुमियो किशिदाले सन् २०११ मा तीनवटा रिएक्टर ध्वस्त भएको आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा कुनै मिति नतोकिएको आइतबार बताएका थिए ।

सन् २०११ मा आएको भूकम्प र सुनामीका कारण फुकुशिमाको प्लान्ट ध्वस्त भएपछि करिब १३ लाख ४० हजार टन पानी जम्मा भएको छ, जुन ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुल बराबर हो । प्लान्ट अपरेटर टेप्कोका अनुसार अहिले करिब एक हजार स्टिल ट्याङ्की बराबर पानीले भरिएका छन्, ठाउँ समाप्त भएको छ र यो बिस्तारै पानीमुनिको पाइपमार्फत प्रशान्त महासागरमा निकास गर्नुको अर्को विकल्प देखिएको छैन । टेप्कोले खतरनाक रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको र यसले छोड्न लागेको पानी सुरक्षित रहेको बताएको छ ।

जापानको समुद्री खाना (सी फुड)को सबैभन्दा ठूलो बजार चीनले जापानको उक्त योजनाप्रति विरोध जनाएको छ र १० वटा जापानी प्रान्तबाट खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाउने बताएको छ । जापानी र चिनियाँ सञ्चार माध्यमले चिनियाँ भन्सार तथ्याङ्कलाई उद्धृत गर्दै भनेका छन्, “यी समय लाग्ने जाँचका कारण गत महिना चीनमा जापानी समुद्री खानाको आयातमा ३० प्रतिशतले कमी आएको छ ।जापानको मत्स्य पालन उद्योगमा धेरैले यस कदमको विरोध गरेका छन् । उक्त पानीको निकासले विदेशमा जापानी समुद्री जनावरको निर्यातमा ठूलो क्षति पु¥याउनेछ ।

किशिदाले स्थानीय मछुवाहरूलाई क्षतिपूर्ति गर्न ३० अर्ब येन (२०० मिलियन अमेरिकी डलर) कोषको प्रतिज्ञा गरेका छन् । सोमबार राष्ट्रिय मत्स्य सहकारी संस्थाका प्रमुख मासानोबु साकामोतोलाई भेटेपछि उनले भने, “सरकारले सुरक्षा सुनिश्चित गर्न, सी फुडको प्रतिष्ठामा असर पर्न नदिन र जनताको जीविकोपार्जनलाई जीवित राख्न सक्दो तयारी गरेको छ र हामी यसका लागि स्पष्टीकरण दिइरहेका छौँ । जापानले निकास गरिएको पानीमा बस्ने माछाबारे लाइभस्ट्रिम गर्नेदेखि अनलाइन गलत सूचनाको सामना गर्ने प्रयाससम्मका लागि देश र विदेशमा जनमत जित्ने प्रयासमा महिनौं बिताएको छ । यस सम्बन्धमा दक्षिण कोरियामा पनि जनचासो उच्च रहेको छ ।

जापानसँगको सम्बन्धलाई चिर्न खोजेको उसको सरकारले योजनाको पुनरावलोकन गर्दा यो अन्तर्राष्ट्रिय मापदण्डअनुरुप रहेको बताएको छ । टेप्कोका अनुसार प्रशोधन गरिएको पानी दैनिक अधिकतम पाँच लाख लिटरसम्म छोड्नु सफाइको एउटा चरण मात्र हो । योभन्दा खतरनाक काम भनेको तीनवटा रिएक्टरबाट रेडियोधर्मी फोहोर र अत्यधिक खतरनाक आणविक इन्धनको निकासलाई समुद्रमा जानबाट रोक्नु हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics