हात्ती प्रजनन् केन्द्रमा एकै वर्षमा जन्मिए ७ छावा


चितवन - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो

तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् । तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उनले बताए । गण्डकीकलीलेसमेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिए ।

गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो । चौधरीले भने, “हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन् । एउटा बचाउन सकिएन, एउटा शुक्लाफाँटा गएर जन्मियो ।” उनले हात्ती प्रजननमा अहिलेसम्मकै धेरै सङ्ख्यामा बच्चा जन्मिएको बताउँदै यो निकुञ्जकै महत्वपूर्ण उपलब्धि भएको बताए ।

चौधरीका अनुसार अघिल्लो आवमा एउटामात्रै बच्चा जन्मिएको थियो । “यो वर्ष थप तीन हात्ती गर्भवती भएका छन् । आगामी आवमा आठदेखि नौ वटा बच्चा जन्मिने सम्भावना छ”, उनले भने ।

बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने चौधरीले जानकारी दिए। यस वर्ष बच्चा जन्माएका सबै हात्ती गर्भवती भइसकेका छन् । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । हाल जन्मिएका अधिकांश बच्चा जङ्गली हात्ती रोनाल्डा र गोविन्देका हुन् । गत वर्ष रोनाल्डो चार महिना तालिम केन्द्र क्षेत्रमा रहेकाले गर्भवती भएका अधिकांश हात्तीको प्रजनन रोनाल्डोसँग भएको उनको भनाइ छ ।

जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिएको चौधरीले बताए । उनका अनुसार तालिम केन्द्रले गत वर्ष नौ हात्तीका बच्चालाई तालिम दिएर पोष्टमा पठाएको थियो । “गत वर्ष कसरामा र सौराहामा दुई/दुई तथा बेलसहर, कछुवानी, बगही, बाघमारा र अमृते पोष्टमा एक/एक हात्ती तालिमपछि पठाइएको छ”, उनले भने, “तीन महिनामा तालिम सम्पन्न हुन्छ ।”

चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल १२ माउ हात्ती छन् । निकुञ्जमा ६० सरकारी हात्ती छन् । ती हात्ती पोष्टमा सुरक्षामा खटिने गर्दछन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६३ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics