घट्दै खाद्य उत्पादन, सन् २०५० मा हाम्रो खाना बन्नसक्छ जंगली अनाज र नक्कली केरा !
- नेचर खबर
काठमाडौं – मौसममा आएको परिवर्तन सँगै हामीले दैनिक खानेकुरामा पनि परिवर्तन आइरहेको छ । पुराना बालीबाट बनेका भन्दा पनि नयाँ नयाँ खानेकुराको विकास धेरै भएका छन् । जलवायु परिवर्तनका कारण खाद्य उत्पादन कम हुने र खानेकुराको मूल्य ह्वात्तै बढ्ने खतरा पनि छ । अब सोचौं त हामी सन् २०५० सम्ममा कस्ता खानेकुरा खान्छौं होला ?
वैज्ञानिकहरूले सन् २०५० मा हाम्रो खानेकुराको अभिन्न अंग बन्न सक्ने तर अहिले धेरै नचिनिएका बिरुवाको सूची नै तयार गरेका छन् । भविष्यमा हामी बिहानको खानामा नक्कली केरा वा पन्डुनस रूखको फल खाइरहेका हुन सक्छौँ ।
संसारभर मानिसले प्राप्त गर्ने ९० प्रतिशत क्यालोरी १५ प्रकारका अनाजबाट आउँछ । त्यसैले लन्डनको रोयल बोटानीक गार्डेन्स इन केउका विज्ञहरूले भविष्यका लागि उपयुक्त बाली खोजिरहेका छन् ।
भोकमरीविरुद्ध लड्न र जलवायु परिवर्तनमा बाँच्न हामीले खानेकुराको दायरालाई फराकिलो पार्नु आवश्यक रहेको डा. सान पीरीनन बताउँछन् । ‘विश्वभर मानिसहरूले हजारौँ प्रकारका बिरुवाहरू खान्छन् र त्यही बिरुवाहरूमा नै हामी भविष्यमा खाद्य चुनौती सामना गर्ने समाधान भेट्न सक्छौँ,’ उनले भने ।
संसारभरका ७,००० भन्दा बढी खानयोग्य बालीमध्ये ४१७ प्रकारका बाली मात्रै खानेकुराका लागि प्रयोग गर्न खेती गरिन्छ । भविष्यका खानेकुरा के हुन सक्छन् त ? वैज्ञानिकहरूले तयार पारेका सूचीका केहीमा चर्चा गरौं ।
पन्डुनस
प्रशान्त टापुहरूदेखि फिलिपिन्ससम्मका समुद्री किनार क्षेत्रमा उम्रिने पन्डुनस साना रुख हुन् । दक्षिणपूर्वी एशियामा मिठाईमा यसको पात प्रयोग गरिन्छ र यसको भूइँकटहरजस्तो फल काँचै वा पकाएर खान सकिन्छ ।
यो बिरुवा खडेरी, हावाहुरी र अम्ल वर्षा जस्ता कठिन परिस्थितिमा उम्रन र बच्न सक्ने डा. मेरीबेल साटो गोमेजले बताइन् । ‘यो जलवायु परिवर्तनमा जुझ्न सक्ने र पोसिलो खानेकुरा हो जुन मिठो पनि छ,’ उनले भनिन् । यदि पन्डुनसलाई दिगो हुने गरी उपयोग गर्न सकियो भने यसलाई अझै धेरे स्थानमा खेती गर्न सकिने गोमेजले बताइन् ।
गेडागुडी
गेडागुडी पनि भविष्यका खानेकुरा हुन् । प्रोटिन र भिटामिन बी यथेष्ट पाइने यी सस्ता पनि हुन्छन् र यसको खेती समुद्री किनारदेखि उच्च पहाडी क्षेत्रमा हुन्छ ।
संसारभर दाल र गेडागुडीमा २०,००० भन्दा बढी प्रजाति छन् तर हामीले थोरै मात्रै प्रयोग गरिरहेका छौँ । जंगली रूपमा उम्रिरहेका सयौँ प्रजातिका बारेमा वैज्ञानिकहरूलाई समेत थाहा नभएको मानिन्छ ।
बोत्स्वाना, नामिबिया र दक्षिण अफ्रिकाका केही स्थानमा मोरामा भनिने गेडागुडीलाई मकैका साथ उमालेर वा पिसेर सातु जसरी खाइन्छ ।
तर सबै गेडागुडी खान योग्य भने हुँदैनन् तर विज्ञहरूले विभिन्न प्रजातिका गुणहरू हेरेर पोषणयुक्त र खान हुने प्रजाति पत्ता लगाउन खोजिरहेका छन् ।
जंगली अनाज
घाँसबाट प्राप्त हुने अनाजका विश्वभर १०,००० भन्दा बढी प्रजाति छन् र त्यस कारण नयाँ खानेकुराका खोज्न सकिने वैज्ञानिकहरूको विश्वास छ ।
फोनीयो भनिने अफ्रिकी अनाज पेय र सातुका रूपमा प्रयोग गरिन्छ र स्थानीय स्तरमा खेती गरिने यो बिरुवा सुक्खा क्षेत्रमा पनि उम्रन्छ ।
नक्कली केरा
एन्सेटलाई नक्कली केरा पनि भनिन्छ र यो केरा प्रजातिको फल इथियोपियाको एउटा क्षेत्रमा मात्रै खाइन्छ ।
केराजस्तै देखिने फल खान योग्य छ । त्यस्तै यसको डाँठ र जरा पनि पाउरोटी जस्ता खानेकुरा बनाउन प्रयोग गर्न सकिन्छ ।
अध्ययनहरूले उष्ण मौसममा हुने यो फलले भविष्यमा १० करोड मानिसलाई खानेकुरा प्रदान गर्न सक्ने सम्भावना देखाएको छ । - एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस