पर्यावरणीय दृष्टिले मौरी जति नै महत्वपूर्ण छ अरिंगाल, कसरी ?

काठमाडौं – सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउँछन् । तर, बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ । आखिर किन ?

सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने र मानिसहरूको सो मान्यता उचित नभएको जनाएका छन् ।

वैज्ञानिकहरूका अनुसार बारुला र अरिङ्गालको बिग्रिएको छवि सुधार्न एउटा अभियान नै चलाउनुपर्ने आवश्यकता छ । मौरी संरक्षणका लागि चालिएका कदमजस्तै ती कीराहरूका लागि पनि केही गर्नुपर्ने उनीहरू बताउँछन् ।

केही अघि छयालीस देशका ७५० व्यक्तिमाझ गरिएको सो सर्वेक्षण ‘इकलजिकल एन्टमलजी’ जर्नलमा प्रकाशित भएको छ । सो अध्ययनअनुसार धेरै दुख्ने गरी चिल्ने हुँदा बारुला र अरिङ्गाललाई थौरैले मन पराउँछन् ।

सो सर्वेक्षणमा सहभागीहरूलाई –५ देखि +५ सम्मको क्रममा विभिन्न कीराहरूलाई राख्न लगाइएको थियो । धेरै मन पर्ने कीरालाई +५ र धेरै मन नपर्नेलाई –५ मा राख्नुपथ्र्याे । अधिकांश व्यक्तिले मौरीलाई +३ वा त्यो भन्दा माथिल्लो क्रममा राखे भने अरिङ्गाल जातका कीराले ठिक विपरीत –३ वा त्योभन्दा तलको स्थान पाए ।



मौरीसँग सम्बन्धित वस्तु के हुन् भनेर सोधिँदा धेरैले ‘मह’, ’फूल’ र ‘परागसेचन’ सम्झे । अरिङ्गालबारे सोध्दा चाहिँ धेरैले ‘खिल’, ‘रिसउठ्दो’ र ‘खतरनाक’ सम्झे । तर, बारुला र अरिङ्गालले पनि फूलमा परागसेचन गर्छन् र अन्य हानिकारक कीरालाई मारिदिन्छन् । पर्यावरणमा ती मौरीसमान उपयोगी छन् ।

सो अध्ययनको नेतृत्व गरेकी युनिभर्सिटी कलेज लन्डनकी डा. सिरियान सम्नरका अनुसार अरिङ्गालहरूको नराम्रो छवि बनेको छ । तिनको योगदान र पर्यावरणीय महत्त्वबारे थाहा नभएकाले सर्वसाधारणहरू बारुला र अरिङ्गाललाई रुचाउँदैनन् ।

डा. सम्नर भन्छिन्, ‘मानिसहरूलाई ती कति उपयोगी छन् भन्ने थाहै छैन ।’ उनका अनुसार अरिङ्गालहरू मानिसको खानेकुरावरिपरि देखिए पनि तिनले आफ्नो गुँडमा भएका बच्चालाई खुवाउन अरू कीराको सिकार गर्न खोजेका हुन्छन् ।

डा. सम्नरले पर्यावरणमा अरिङ्गालले पार्ने सकारात्मक प्रभावबारे पर्याप्त अनुसन्धान नभएको औँल्याएकी छन् । उनले गत ३७ वर्षमा मौरी र अरिङ्गालबारे प्रकाशित शोधपत्र र १६ वर्षमा विभिन्न सम्मेलनमा प्रस्तुत गरिएका वैज्ञानिक सामग्रीको विश्लेषण गरेकी छन् ।



सङ्कलित ९०८ शोधपत्रमध्ये सन् १९८० देखिका २.४ प्रतिशत शोधपत्र मात्रै अरिङ्गालबारे र बाँकी सबै (८८६) मौरीबारे छन् । बीस वर्षदेखिका वैज्ञानिक सम्मेलनमा प्रस्तुत २,५४३ शोधका सारांशको ८१.३ प्रतिशत मौरीबारे छ ।

सो सर्वेक्षणमा सहभागी युनिभर्सिटी अफ फ्लोरेन्सका डा. आलेस्सान्द्रो चिनीका अनुसार पर्याप्त अध्ययन नभएकाले वासस्थान विनाश र मौसम परिवर्तनका कारण घट्न थालेका बारुला र अरिङ्गालजस्ता कीराको संरक्षणको नीति बनाउन विलम्ब भएको छ । - एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics