हिमताल फुट्न थाले, सिक्किमको जस्तो घटना होला नेपालमा ?
- नेचर खबर
काठमाडौं – मंगलबार राति सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भयो । हिमालमा हिउँ पग्लने दर बढेसँगै हिमतालमा त्यस अघि नै पानीको मात्रा उच्च थियो, रातीको वर्षाले अझै थपियो । अनि, फुट्यो हिमताल र टिस्टा नदीमा बाढी बनेर बन्यो ।
नजिकैको एउटा बाँधबाटसमेत थप पानी त्यसै समय छोडिएपछि बाढीले उग्र रूप लियो । कैयौँ बस्तीहरू बाढीमा पसे । घरहरू भत्किए । २३ सैनिकसहित सैयौं वेपत्ता भए । शुक्रबार साँझ सम्मको तथ्यांक अनुसार ४० जनाको मृत्यु भएको छ, १०३ अझै बेपत्ता छन् । सैयौं परिवार विस्थापित भएका छन् । विद्युत गृहसहितका हजारौं भौतिक संरचना ध्वस्त हुँदा अबौंको क्षति भएको छ ।
यो एउटा हिमताल फुट्दा निम्तिएको संकट हो । यती संकट निम्तनका लागि मुसलधारे बर्षा र कञ्चनजंघा हिमालमा निरन्तर हिउँ पग्लनु पर्याप्त बन्यो । पछिल्लो समय मौसममा आएका परिवर्तनले अप्रत्याशित रूपमा यसरी ठूलो क्षति पुर्याइरहेको छ, नेपाल, भारतसहित विश्वका विभिन्न स्थानमा ।
जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लने दर उच्च छ । हिमनदी निरन्तर पग्लिरहेका छन् । अनी, हिमालका फेदमा रहेका हिमताल पानीको मात्रा थेग्न नसक्ने अवस्थामा पुगेका छन् । त्यसको जोखिम नदी किनारका बस्ती, सहर र वातावरणलाई छ । केही अघि मुस्ताङको कागबेनी बजारले यो संकट बेहोरेको थियो । अहिले भारतको सिक्किम जलवायु परिवर्तनको सिकार बन्यो । बाढीबाट मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लाहरू प्रभावित बनेका छन् । विज्ञ भन्छन्, ‘जलवायु परिवर्तनको असर कुनबेला कहाँ देखिन्छ टुंगो हुँदैन । अब यस्ता घटनाका सामना निरन्तर गर्नुपर्ने अवस्था आएको छ ।’
के पछिल्लो समय नदिहरूमा जलसतह बढीरहेको छ ?
पछिल्लो घटना सिक्किमलाई हेरौं । त्यहाँ नदी किनारमा धेरै बस्ती छन् । नदी र किनारका बस्तीले सुन्दरता थपेको हुन्छ । तर, पछिल्लो समय त्यही सुन्दर स्वरूपलाई जलवायु परिवर्तनको कारण निम्तिएका बाढी र पहिरोले कुरूप बनाउँदै लगएको छ । जस्तो सिक्किमको मंगन, गान्तोक, पाक्योङ र नामची बन्नुपर्याे ।
मंगलबार विहानको राती करिब १ बजे लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो । बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर सम्म पानी बढेको थियो ।
भारतीय रक्षा मन्त्रालयका एकजना प्रवक्ताले त्यस समय तल्लो तटिय क्षेत्रहरूमा अचानक १५–२० फिटसम्मले जलसतह बढेको बताएका छन् । नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप खराब बनेको बताइएको छ ।
सीडब्ल्यूसीका अनुसार बाढी असोज १६ को मध्यरातबाट सुरु भएको थियो । बिहान ६ बजे र दिउँसाे दुई बजे भारत र बांगलादेशमा बाढी पूर्वानुमान गरिएका थिए । उत्तरी क्षेत्रलाई बाँकी राज्यसँग जोड्ने दुई वटा पुल बाढीले बगाएपछि त्यहाँको यातायात नराम्री प्रभावित बनेको थियो । अधिकारीहरूले केही सैन्य गाडीहरू हिउँको लेदोमा डुबेको बताएका छन् ।
पछिल्लो समय माथिल्लो क्षेत्रमा परेको मौसमी असर तल्लो क्षेत्रमा थाहा नहुँदा ठूला घटना भइरहेका छन् । अप्रत्यासित बाढीले नदी खतर्नाक बन्दैछन् । अहिले कुन समय नदीमा बाढी आउँछ भन्न नसकिने अवस्था रहेको विज्ञ बताउँछन् ।
अब हिमताल जोखिममा पर्दैछन्
पछिल्लो अध्ययनले नेपाल, भारतसहित विश्वका हिमताल जोखिममा पर्दै गरेको देखाएको छ । कारण – मौसम परिवर्तन÷जलवायु परिवर्तन नै हो । हिउँ पग्लिएर पानीको मात्रा बढ्दा जुनै समय पनि यसले खतरा निम्त्याउने जोखिम छ । अझै नेपाल त हिमताल नै हिमताल भएको मुलुक, खताराको उच्च स्थानमा रहेको छ ।
मंगलबार फुटेको सिक्किमको ताल करिब साढे दुई किलोमिटर लम्बाई र आधा किलोमिटर चौडाइमा फैलिएको छ । यसको गहिराई १० तले भवनको बराबर रहेको मानिएको छ । धेरै वर्ष पहिलादेखि नै त्यहाँका विज्ञहरूले यस क्षेत्रमा बनेका १४ वटा हिमतालहरूमध्ये ल्होनाक तालको पहिचान गरेका थिए । जुन हिमताललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो ।
केही वर्ष अघिसम्म यो सानो हिमताल थियो । तर, हिउँ अत्याधिक पग्लिएका कारण यो तालको आकार वर्षौँदेखि असाधारण रूपमा तीव्र गतिमा विस्तार हुँदै गयो । यो हिमताल समुन्द्र सतहबाट ५,२०० मिटर (१७, १००फिट) को उचाइमा रहेको छ । भविष्यमा यो तालमा क्षमता भन्दा पानीको मात्रा बढी भयो वा बादल फुट्यो भने, यसले विनाश ल्याउँछ भनेर विज्ञहरूले पहिलै चेतावनी दिइसकेका थिए । त्यो चेतावनी अहिले साबित भयो ।
सन् १९६८ अक्टोबर २ देखि ५ तारिख सम्म भारी वर्षा हुँदा टिस्टा नदीमा यस्तै बाढी आएको थियो । त्यस बेला नदीमा आएको बाढीले सिक्किम र पश्चिम बंगालका विभिन्न जिल्लामा ठुलो धनजनको क्षति भएको थियो । अहिले ५५ वर्षपछि फेरि टिस्टा नदीमा आएको बाढीले जनतालाई त्यही भयावह घटनाको स्मरण गराएको छ ।
पहिलो पटक यसको तस्बिरहरू केन्द्रीय गुप्तचर एजेन्सी र संयुक्त राज्य वायु सेनाले सन् १९६० र १९७२ को बीचमा संकलन गरेका थिए । त्यसपछि उनीहरूले यो ताललाई हिमनदीको मुखमा रहेको सुपरग्लासियल तालको रूपमा देखे । यस्ता ताल नेपालमा पनि धेरै छन् । तर, अध्ययन नहुँद जोखिम कुन बेला निम्तने हो टुंगो छैन ।
यस्ता घटनाबाट नेपालले के सिक्ने ?
नेपाल हिमताल धेरै भएको मुलुक हो । हिमालमा हिउँ पग्लिएर हिमताल उकुसमुकुस भएका छन् । फाट्ट फुट्ट फुटे पनि यसबाट कसरी जोगिने ? सरकारले खासै चिन्ता लिएको देखिँदैन ।
नदी किनारमा बस्ति, सहर र विद्युत गृह अत्याधिक छन् । कुनै पनि बेला यस्तै घटना भएका ठूलो क्षति नेपालले भोग्नुपर्ने देखिन्छ । त्यसैले समयमै हिमतालको जोखिम सरकारले आँकलन गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस