सौराहामा दसैं मनाउँदै पर्यटकले भने “धन्यवाद नेपाली”

मुग्लिन – चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए । उनीहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।

नेदरल्यान्डदेखि सौराहा घुम्न आउनभएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिन्थे । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थे । उनले आगामी वर्ष पनि नेपालमा आएर दसैँ मनाउने बताए। “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics