भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुर– भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।

दर्शन गरेमा दुःख, कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गर्दछन् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक मेलासमेत लाग्ने गरेको छ । मानिस आफ्ना कुलपित्रृको सम्झनामा सत्बीज छर्नका लागि समेत यहाँ पुग्ने गरेका छन् ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ । भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाटसमेत दर्शनार्थी आउने गरेका छन् । यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न मानिस पुग्ने गरेका छन् ।

मेलाबाहेक अन्य समयमा समेत दर्शन तथा पञ्चबलि गर्नका लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ वटा र अन्य ३३ वटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

यो क्षेत्र भएर नेपाल घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुम्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय हिरालाल लुइँटेलले बताए । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यास्तको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।

‘टेम्केसिद्ध एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो’, उनले भने, ‘यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचारप्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडा गणेश विष्टले बताए ।

मानिसको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको स्थानीयको भनाइ छ ।

मन्दिरमा लगाइएको घेराबारा भत्किन थालेका छन् । आसपासमा चरण क्षेत्र भएकाले यहाँ गाईबस्तुसमेत भित्र पस्ने अवस्था रहेको स्थानीयवासीको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics