गुटेरेसको प्रतिक्षामा पोखरा, हेलिकप्टरबाटै भोली अन्नपूर्ण आधार शिविर पुग्ने

गण्डकी – आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा ।

पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ ।

नेपालको औपचारिक भ्रमण रहेका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्नुले पोखरेलीहरू गौरवान्वित बनेका छन् । महासचिव गुटेरेस दिउँसो आउने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै महानगर प्रमुख आचार्यले आफूहरू उनको भव्य स्वागतको प्रतिक्षामा रहेको बताए ।

कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनेछन् । उनी सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ ।

विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उहाँलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नेछन् ।

यसपछि महासचिव गुटेरेसलाई विमानस्थलभित्रै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख सचिवलगायत १६ उच्च पदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उहाँको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको महानगरप्रमुख आचार्यले जानकारी गराए ।

महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि विशेष महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । आफूहरू महासचिवको स्वागतको पर्खाइमा रहेको जनाउँदै उनले पोखरासहित यस क्षेत्रको मौलिकता झल्कने किसिमका झाँकीहरू प्रस्तुत गर्न लागिएको बताए ।

महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

महासचिव गुटेरेस मंगलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने बताइएको छ । अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उहाँको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिए ।

महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्ने तयारी गरिएको जनाउँदै उनले आफूहरू स्वागतका लागि आतुर भएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics