हिमाली आयोजनामा पैसा खर्च भयो तर प्रतिफल देखिएन
- नेचर खबर
नेपालका उच्च हिमाली क्षेत्रमा कृषि तथा पशुपालनका लागि अर्बौ रुपैया खर्चेर शुरु भएको हिमाली आयोजनाले निर्धारित अवधिमा लक्षित उपलव्धी हासिल गर्न नसक्ने देखिएको छ ।
उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) ले आफ्नो आयोजना समय अवधिभर प्रक्षेपण गरेका सबै प्रतिफल प्राप्त गर्न नसक्ने देखिएको हो ।
नेपाल सरकार र एसियाली विकाश बैंकको सम्झौता भएपछि वि. सं ०६८ असोज १५ बाट हिमाली आयोजना सञ्चालनमा आएको थियो । अब यो आयोजनाको समय अवधि ११ महिनामात्र बाँकी छ ।
आयोजनाका सुचना अधिकारी डा. मनोज कुमार शाहीले हिमाली आयोजनाले ल्याएका कार्यक्रमले लामो समयसम्म किसानलाई उपलब्धि हुने बताए । उनले भने–अहिले रोपेको स्याउले केहि समयपछि प्रतिफल दिन्छ ।, भर्खरै बाख्रा पालन सुरु गरेको ठाउँमा केहि समय पछि मात्र किसान लाभान्वित बन्न सक्छन् ।’
नेपालका उच्च पहाडी जिल्लाहरुमा वाली, पशुपालन र जडिबुटी उत्पादनको सम्भाव्यतालाई मध्यनजर गर्दै नेपाल सरकार कृषि विकास मन्त्रालय पशु सेवा विभाग अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजना सञ्चालनमा ल्याएको थियो ।
आयोजनाले आयोजनामा संलग्न किसानलाइ आफ्नो लगानिमा वार्षिक न्युनतम १५ प्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने गरि व्यवसाय गराउने लक्ष्य राखेको थियो । आयोजना सञ्चालनमा ल्याउनुपुर्व वार्षिक २ करोड अमेरिकी डलर बराबर कृषि उत्पादन बृद्धी गर्ने लक्ष्य राखेको थियो । साथै आयोजनाले ७५ सय स्थानिय लाई रोजगारीको सिर्जना गर्ने लक्ष्य राखेको थियो ।
हिमाली आयोजनाले पुर्वाञ्चलका संखुवासभा र सोलुखुम्बु, मध्यमाञ्चलका दोलखा र रसुवा, पश्चिमाञ्चलका मनाङ र मुस्ताङ र मध्यपश्चिमाञ्चलका डोल्पा, मुगु, जुम्ला र हुम्ला गरी १० जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
आयोजनाले यस कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ४० लाख ९० हजार अमेरिकी डलर खर्च गर्ने योजना बनाएको थियो । साथै कृषि विकास मन्त्रालय अन्तर्गतका विभिन्न सेवा निकाय तथा स्रोत केन्द्रको पुर्वाधार विकासका लागि ३० लाख ३२ हजार अमेरिकी डलर खर्च गर्ने योजना बनाएको थियो । योजना अनुरुप अधिकांश रकम खर्च भएतापनि काम त्यति प्रभावकारी बन्न सकेको देखिँदैन ।
आयोजनाले कृषि व्यवसाय अनुदानमा र कृषि प्रबद्र्धन कार्यमा २ करोड १३ लाख ५० हजार अमेरीकी डलर कृषि व्यवसाय विकासका लागी खर्च छुट्याएको थियो । यसै अनुरुप आयोजनाले पशुपंक्षी पालन, तरकारी खेती र जडिबुटि संकलन फलफुल खेतिलगायत अन्य कार्यका लागी कृषकहरुलाई सहयोग पुर्याउँदै आएको छ ।
आयोजनाले पशुपंक्षी पालनमा याक चौँरी चिज उत्पादन, बाख्रा पालन, च्याँग्रा पालन, भेडापालन÷उन प्रशोधन, दुध उत्पादन, बंगुर पालन, घाँसको बीउ उत्पादन, ग्रामीण कुखुरा पालन कार्यक्रम समावेस गरेको छ ।
तरकारी खेतीतर्फ अर्गानिक तरकारी उत्पादन, ताजा तरकारी उत्पादन, तरकारी बीउ उत्पादन, मसला वाली, अलैँची खेती, आलु, अकबरे खुर्सानि, कालो मुसुरो, सीमी र स्थानिय उत्पादन (कोदो, कागुनो, फापर) लगायत कृषि उत्पादनमा सहयोग पुर्याएको छ ।
जडीबुटि उत्पादनमा अल्लो, चिराइतो, सतुवा, सुगन्धवाल, अर्गेली, जटामसी अकरकारा, पदमचाल, केशर खेति, ठुलो खेति, मझितो, डाले चुक, अत्तिस संकलन गरेको छ ।
फलफुल उत्पादनमा सुन्तला, स्याउ, ओखर, खुरपानि, किवी, अनार, नास्पाति उत्पादनमा सहयोग पुर्याएको छ । यसका साथै आयोजनाले शुन्य शक्ति शीत भण्डार, कृषि पर्यटन, ट्राउट माछा पालन, माहुरी पालन, हाते कागज निर्माण जस्ता क्रियाकलापका लागी पनि किसानहरुलाई सहयोग गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस