भूकम्पपीडितका विषयमा आवश्यक निर्णय लिन गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।  १० बजेबाट गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व छ।

शुक्रबार राति (२३.४७ बजे) १२ बज्नु १३ मिनेट अगाडि) जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेका छन्।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाई सकेको प्रवक्ता नारायण भट्टराईले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत घटनास्थलहरूमा पुगिसकेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र उपचारमा कुनै कमी हुन नदिन निरन्तर समन्वय गर्दै आवश्यक निर्देशन दिईएको र पछिल्लो अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको जानकारी नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरूले दिए। नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत र सशस्त्र प्रहरीका राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण भने यकिन भई नसकेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics