मन्त्रिपरिषद् निर्णण : अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने, मृत्यु भएकालाई २ लाख राहत दिने

काठमाडौं - सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने, तथा त्यस्तो सहयोगका लागि सरकारका तर्फबाट धन्यवादन दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

अहिलेसम्म चीन सरकारले १० करोड बराबरको राहत सामग्री दिने घोषणा गरेको छ । यस्तै अर्को छिमेकी मुलुक भारतले हरसम्भव सबै सहयोग र राहत उपलब्ध गराउने बताएको छ । त्यस्तै मित्रराष्ट्र रुस, पाकिस्तानलगायत मुलुकले पनि सहयोग गर्ने बताएका छन् ।

यस्तै भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics