इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्षमा पोखरेल

काठमाडौं – युवा जलविद्युत उद्यमी सुशील पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् । विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि हो ।

कात्तिक १४ गतदेखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण पनि उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन् ।

विश्व जलविद्युत मञ्चमा भएको यो उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उनको अभियानलाई त प्रोत्साहन मिलेको छ नै यससँगै नेपालको गरिमालाई समेत उचाइमा पुर्याएको छ । पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका छन् ।

दिगो जलविद्युत विकासमा खटिइरहेका पोखरेलले सन् २०३५ सम्म एक हजार मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने एउटा अग्रगामी अभियान लिएर हिँडेका छन् । उनी बिजबेलका संस्थापकसमेत हुन् । उनले उक्त कम्पनीमार्फत् मध्य तथा दक्षिण एसियामा हरित ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्ने अभियानमा आफ्नो गर्विलो पहिचान बनाउँदै अगाडि बढेका छन् ।

तीन दिनसम्म भएको सम्मेलनमा विभिन्न देशका ९०० भन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कूटनीतिज्ञ तथा जलविद्युत क्षेत्रमा दशकौंदेखि काम गरिरहेका कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलन समापनको दिन जारी ‘बाली घोषणापत्र’ले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत न्यून कार्बनयुक्त अर्थतन्त्र एवम् एकीकृत जलविद्युत् विकास गर्नुपर्नेमा जोड दिएको छ । आइएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन् ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics