दैवी प्रकोप सहायता कोषमा जम्मा भयो ६ करोड, भूकम्प पीडिले पाउने कहिले ?

काठमाडौं - गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब ६ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ ।

भूकम्प गएको भोलिपल्ट शनिबारदेखि नै विभिन्न सङ्घसंस्थाबाट पीडितलाई सहयोग गर्ने घोषणा भए पनि बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको हो ।

कोषका अनुसार बुधबारसम्म बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शनले ५ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, चैतन्य एकेडेमीले एक लाख, मनीष रेग्मीले एक लाख १० हजार, धादिङ काँग्रेसले एक लाख ५१ हजार, काँग्रेस (केन्द्र) ले ५० लाख, कुस्मा नगरपालिकाले ४ लाख ७० हजार, नेपाल एलपीजी ग्यास उद्योग सङ्घले ११ लाख ११ हजार, केएनपी जापानले ५ लाख र अन्यले २ करोड ४ लाख ४७ हजार गरी कुल ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । उल्लिखित रकम कोषमा नगदै जम्मा भएको सहयोग हो ।

यसबाहेक छिमेकी मुलुक र देशभित्रका विभिन्न सङ्घसंस्थाले पनि आफैँ राहत वितरण गरिरहेका छन् । यसरी वितरण भएको राहतको एकीकृत विवरण भने आइसकेको छैन ।

भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश सरकार, अन्तर्राष्ट्रिय जगत्, निजी सङ्घसंस्था र व्यक्तिले गरी २० करोड हाराहारीमा नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नगदै जम्मा गर्ने प्रतिबद्धता गर्ने मध्येले पनि हालसम्म जम्मा नगरेकाले बुधबारसम्म करिब ६ करोड रुपैयाँ मात्र जम्मा भएको कोषले जनाएको छ ।

सहयोगका लागि आह्वान गरेको तीनरचार दिन मात्र भएकाले कोषमा बिस्तारै रकम सङ्कलन भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics