मंसिर–पुसमा हात्तीले किन उत्पात मच्चाउँछ ?

काठमाडौं – मंगलबार धुर्बे हात्तीको दाह्रा काटेर रेडियो कलर जोडेपछि पुनः हात्तीको विषयमा चर्चा छ । आखिर किन यो समय अर्थात् मंसिर–पुस महिनामा हात्तीले उत्पात मच्चाउँछ ? धेरैको जिज्ञासा हुनसक्छ । अधिकारीहरू भन्छन्, ‘मङ्सिरपछि सुक्खा लाग्छ र जंगलमा घाँस हुँदैन अनि हात्तीहरू हरियोपरियोको खोजीमा खेतमा प्रवेश गर्छन् ।’

प्रायः जंगली हात्तीले असार–साउन र मंसिर–पुस महिनाका बेला धेरै उत्पात मच्चाउने गरेका छन् । यो दुइटा मौसममा हात्तीहरू बढी सक्रिय भएर बालीनाली नष्ट गर्ने र आक्रमण गर्ने गरेको पाइन्छ ।

बालीनाली सखाप पार्ने भएकाले स्थानीयवासीले हात्तीलाई बिच्क्याउने र बिच्किएका हात्तीले अन्धाधुन्ध आक्रमण गर्ने गरेको पनि पाइएको छ । हात्तीले मकै, धान, गहुँ र उखु खान मन पराउँछन् । त्यसैले गर्दा मकै पाक्ने असार–साउन तथा धान र उखु भित्र्याउने बेला भएकाले मंसिरतिर धेरै घटना हुने गरेका छन् ।

त्यस्तै हरियो गहुँ खान खेतमा हात्ती प्रवेश गर्ने बेला भएकाले पुस–माघमा पनि मानवीय क्षति भएको पाइएको छ । जाडोका बेलामा हुस्सु लाग्ने र हात्ती नदेखिने भएकाले पनि मान्छेसँग जम्काभेट हुँदा घटना हुन्छ ।

नेपालमा हुने हात्ती आक्रमणका घटनामध्ये कतिपयमा बस्तीमा पसेका हात्तीका बथानको संलग्नता हुने गरेको छ । तर, सबैभन्दा धेरै विध्वंस चाहिँ धुर्बे, गोबिन्दे वा रोनाल्डोजस्ता बथानमा नबस्ने र उन्मत्त हात्तीसँग सम्बन्धित घटनाहरूमा भएको देखिएको अधिकारी तथा विज्ञहरू बताउँछन् ।

धुर्बे हात्ती लामो समयदेखि बथानबाट अलग रहँदै आएको छ । हात्ती सामुदायिक प्राणी हो । तर भाले हात्ती समुदायबाट अलग रहे उन्मत्त बन्छ । हात्तीमा विद्यावारिधि गरेका वन्यजन्तुविद् डा. नरेन्द्रमानबाबु प्रधानका अनुसार प्रजननको समय वा भाले हात्तीले ढोईसँग संसर्ग गर्न चाहेका बेलामा पनि ऊ उन्मत्त हुने गर्छ ।

त्यस्तै हात्तीलाई ‘मात लागेका बेला’ पनि उसले विध्वंस गर्ने गरेको प्रधान बताउँछन् । विशेष गरी पौष्टिक आहारा खान पाउने समयमा हात्तीलाई ‘मात’ लाग्छ । ‘धुर्बे हात्ती उग्र हुनुको कारण चाहिँ अरू केही होइन, उसलाई मानिसहरूले गरेको दुर्व्यवहार नै प्रमुख कारण हो जस्तो लाग्छ । यत्रो वर्षदेखि उसलाई पटकपटक दुर्व्यवहार गरिएको छ। कुट्नेपिट्नेदेखि गोली हान्नेसम्म भएको छ,’ उनले भने ।

प्रधानका अनुसार हात्तीको बथानमा खासै वयस्क भालेहरू बस्दैनन् । बथानको नेतृत्व पनि बजै पुस्ताका पोथी हात्तीले नै गर्छन् । ‘हात्तीको बथानमा १०÷१२ वर्षसम्मका भाले बच्चा मात्र हुन्छन् । वयस्क हुनेबित्तिकै प्रायः भाले हात्तीले बथान छाडेको हामी देख्छौँ । अनि त्यसरी एक्लिएको हात्तीलाई बिच्क्याइदिएपछि उसले विध्वंस गर्छ,’ उनी भन्छन् ।

बथानमा भएका हात्तीसँग बच्चाहरू हुन्छन् । हात्ती सामाजिक र समझदार प्राणी भएकाले बथानमा रहेका बेला आफ्नो बच्चाको सुरक्षाका लागि पनि मान्छेसँग जोरी खोज्ने काम गर्दैनन् । एक्लो भएपछि मत्त भएर पनि आक्रमण गर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics