पाथीभरामा केबलकार : संस्कृति र जैविक विविधता जोगाउन कि मास्न ?
- नेचर खबर
ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माण गर्ने चर्चा नयाँ होइन । तर, जब पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल नै ताप्लेजुङ पुगेर शनिबार एक कार्यक्रममा केबलकार चाँडै निर्माण हुने बताए यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
तल्लो फेदी (काफ्लेपार्टी) देखि पाथीभरा मन्दिर नजिकै सम्म केबलकार टाँग्ने तयारी यो कम्पनीको छ । पछिल्लो समय चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको यस कम्पनीले पाथीभरामा केबलकार निर्माणलाई सहज बनाउन केन्द्रदेखि जिल्ला सम्मका नेता र ‘डन’लाई आफ्नो पक्षमा पार्दै आएको स्रोतको दाबी छ । यस बिचको समयमा उनी यो काममा केही हद सम्म सफल भएपछि सदरमुकाम फुङ्लिङ पुगेर शनिबार अन्तिरक्रिया गर्ने आँट पनि गरे र, त्यहाँ भने ‘पाथीभरामा केबलकार बनाउनु मेरो उदेश्य पैसा कमाउनका लागि हैन, केही गरौं भनेर हो ।’
उनले स्थानीयको मन जित्नको लागि यो प्रचार गरे पनि पाथीभरामा देखिएको चापको लोभमा कमाइको राप ताप्नकै लागि हो भन्छन् केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिंखिम । उनी धार्मीक आस्था र ऐतिहासिकताको ख्याल नगरी कमाइका लागि यसरी पाथीभरा क्षेत्र बिक्री गर्न नहुने बताउँछन् ।
यस अघि पनि विभिन्न बाहानमा पाथीभरा क्षेत्रको वन फडानी र अतिक्रमण भइरहेको छ । अब पुनः यहाँ केबलकार निर्माण गरे यहाँको जैविक विविधतामा असर पर्ने विज्ञ बताउँछन् । त्यति मात्रै नभई पाथीभराको जति महत्व छ, त्यो घटेर जाने छ । लिंखिम भन्छन्, ‘किनकी यो धार्मीक स्थलको साटो घुम्न जाने र रमाइलो गर्ने ठाउँ बन्न सक्छ । अन्य क्षेत्रको उदाहरणले यो प्रष्ट पार्छ ।’
पाथीभराको विकासका लागि तल्लो फेदी सम्म कालोपत्रे सडक बाह्रै महिना चल्ने बनाएर त्यहाँ तीर्थयात्रीका लागि सुविधा युक्त होटेल र संरचनाको विकास गरे पुग्छ । तर, केबलकारको कमाउ धन्दामा जिल्लाकै नेताहरू लागेको स्थानीयको आरोप छ । पछिल्लो समय स्थानीयको कुरा बंग्याएर ‘बनाउनु ठिक हो’ भन्दै उनीहरूले बनावटी समाचारसमेत सार्वजनिक गरेर भ्रम फैलाएको समितीको तर्क छ ।
यस अघि पनि पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने पक्षमा बिरोध र आन्दोलन भएका थिए । काठमाडौंको माइतीघरदेखि सदरमुकाम फुङ्लिङसम्म यो विषयको विरोध भएको थियो । तर, पछिल्लो समय त्यहीँ बिरोध गर्ने केहीलाई ढकालले विभिन्न प्रलोभनमा आफ्नो पक्षमा पार्दै आन्दोलन तुहाउने रणनीति अपनाएको स्थानीयको आरोप छ । अहिले जिल्ला समन्वय समिति, नगरपालिका र पाथीभरा क्षेत्रविकास समिति लगायत पाथीभरामा सरोकार राख्ने संस्थालाई पनि आफ्नो पक्षमा पारेर उनी जबरजस्ति अघि बढ्न खोजेको संघर्ष समितको दाबी छ ।
यता ढकाल भने यहाँ आफ्नो कुनै स्वार्थ नरहेको बताउँदै आएका छन् । उनी यहाँ केबलकार निर्माण गर्दा एउटा रूख काटे पनि २५ वटा रोप्ने र स्थानीयको विचारलाई पनि सम्मान गर्ने बताउँछन् । उनी संस्कृति जोगाउन र प्रचार गर्न यो कार्यको थालनी भएको दाबी दोहोर्याउँछन् ।
प्रतिक्रिया दिनुहोस